गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका चालक कारागार चलान


काठमाडौँ – भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् ।

ना.६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अदालतको आदेशपछि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

२४ भदौमा भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको इजलासले श्रेष्ठलाई कारागार चलानको आदेश दिएको थियो । श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२) को कसुरमा मुद्दा दर्ता गरिएको थियो । उपदफा (२)मा ज्यान मार्ने मनसाय तथा उद्देश्य नराखी लापरबाही तरिकाले सवारी चलाएर कसैको मृत्यु भएमा कसुरको मात्रा हेरेर २ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था ऐनमा उल्लेख छ ।

३१ साउनको दिउँसो १ः४० बजेतिर श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थलै मृत्यु भएको थियो ।

प्रतिक्रिया