गृहसचिव दुवाडीद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण


काठमाडौं- गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । आज (बुधबार) गृहसचिव दुवाडीले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका हुन् ।

गृहसचिव दुवाडीलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए । सो क्रममा उनले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरे ।

उनले प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको पनि निरीक्षण गरे । उनले प्रहरी गृह प्रशासनअन्तर्गतको महत्वपूर्ण अंग भएको चर्चा गर्दै विभिन्न समस्या, सीमितता र चुनौतीहरूको बावजुद पनि प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानून कार्यान्वयनमा पुर्‍याएको योगदानबारे प्रशंसा गरे ।

उनले परम्परागत ‘पुलिसिङ’ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमसँगै व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया