पिआरधारीसँग बिहे गरेर अस्ट्रेलिया गएकी दिक्षा मृत फेला, पतीमाथि अनुसन्धान गर्न माग


काठमाडाैं- अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती मृत भेटिएकी छिन् । आइतबार राति सिड्नीकाे सेन्ट्रलस्थित एक पार्कमा झापाकाे मेचीनगर नगरपालिका-४ धाइजनकी २७ वर्षीया दिक्षा सिवाकोटी मृत भेटिएकी हुन् । उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ ।

विवाहित दीक्षा चार महिनाअघि अस्ट्रेलिया पुगेको बताइएको छ । त्यहाँ पुगेर काम गर्न सुरु गरेकी उनी सेप्टेम्बर ८ मा कामबाट निस्केपछि बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा उनको शव पार्कमा झुण्डिएको अवस्थामा फेला परेको अस्ट्रेलियास्थित सञ्चारमाध्यमले जनाएका छन् ।

उनका माइती पक्षले दिक्षाको मृत्युलाई आत्महत्याको रूपमा स्विकार गरेकाे छैन । उनीहरूले आत्महत्या दुरूत्साहनमा पतीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

माइती पक्षले अस्ट्रेलियाकाे पिआर पाएका  श्रीमानले उनलाई अस्ट्रेलिया गलत बाटोबाट लगेर गएकाे बताएका छन् । त्यस्तै उनका श्रीमानले आफ्नो पहिलेको बिहेको बारेमा ढाँटेको समेत पाइएको परिवारले बताएकाे छ ।

उनको परिवारले यस घटनाको सत्य तथ्य र निष्पक्ष अनुसन्धानका लागि अनुरोध गरेकाे छ । साथै अन्तिम संस्कारका लागि दिक्षाको शव नेपाल पठाइदिन नेपाली समुदायसँग उनीहरूले आग्रह गरेका छन् ।

 

प्रतिक्रिया