अज्ञात रोगबाट ज्यान गुमाउनेको संख्या पाँच पुग्यो


बाँके – बाँकेको नरैनापुरमा अज्ञात रोगबाट थप एक जनाको मृत्यु भएपछि स्थानीयवासी भयभित हुन थालेका छन् ।नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित सोनवर्षा निवासी २८ वर्षीया निर्मला पासीको बुधबार उपचारका क्रममा मृत्यु भएको छ । पासीलाई १८ गते राति बान्ता भएपछि स्थानीय मेडिकलमा जाँच गराई बुधबार नेपालगञ्जस्थित शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको नरैनापुर वडा नं ६ स्थित गङ्गापुर स्वास्थ्य चौकी इन्चार्ज भरतराज बुढाथोकीले जानकारी दिए ।

केही दिनअघि नरैनापुरकै वडा नं ३ गेग्ली गाउँमा झाडापखालाको लक्षण देखिएर चार जनाको मृत्यु भएको थियो । बुधबार निर्मलाको अचानक मृत्यु भएपछि गङ्गापुरका स्थानीयवासी स्वास्थ्य चौकीमा परीक्षणका लागि आउनेक्रम बढेको स्वास्थ्य चौकी इञ्चार्ज बुढाथोकीले बताए । ‘यो बेला मौसमी ज्वरो, आउँमासी, पेट दुख्ने समस्या प्रायः हुने गर्दछ, स्वास्थ्य चौकीमा आज पनि झाडापखालाको लक्षण भएका केही बिरामी उपचारका लागि आएका छन्’, उनले भने, ‘झाडापखालाको प्रकोप छैन, तर एक जनाको ज्यान गएपछि स्थानीयवासी डर त्रासले स्वास्थ्य चौकीमा जाँचका लागि आउनेक्रम बढेको छ ।’

स्वास्थ्य चौकीमा बिहीबार एकै दिन एक सय छजना ज्वरो, आउँ र झाडापखालाको समस्या लिएर आएको उनले जानकारी दिए । जसमध्ये ४५ जनाले आउ र पखालाको लक्षण देखिएको छ । त्यसमध्ये तीन जनामा जलवियोजनको अवस्था पाइएपछि औषधोपचार गरेको बुढाथोकीको भनाइ छ । अहिले गाउँमा ज्वरो र झाडापखाला जस्ता लक्षण भएका बिरामीहरू फेलापरेको स्थानीय सोहनलाल यादवले बताए । गेग्ली गाउँ र सोनवर्षामा गरी चारजनाको मृत्यु भएपछि नरैनापुरवासीमा डरत्रास देखिएको उनको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले हाल मौषमी ज्वरो, आउँ, पेट दुख्ने समस्या देखिरहेको उल्लेख गरे । गाउँमा गएर बुझ्दा अवस्था नियन्त्रित अवस्थामै रहको पाइएको उनले बताए । गाउँपालिकामा कुनै पनि किसिमको संक्रमण फैलिन नदिन आफूहरूको ध्यान केन्द्रित भएको र स्वास्थ्य टोली गाउँमा खटाएर बिरामीलाई उपचारमा ल्याउन र सचेतीकरण गर्ने काम गरिरहेको स्वास्थ्य शाखा संयोजक साहले बताए ।

प्रतिक्रिया