प्रहरीको जागिरः जुनियरमा वितृष्णा, सिनियरमा लालच !

तल्ला तहका कर्मचारीहरु १६ वर्षमा पेन्सनको माग गरिरहेका बेला उच्च अधिकृत भने ३० वर्ष पनि बढाउन माग गर्दै अदालतको दैलो चहारिरहेका छन्


जनतासँग प्रत्यक्ष पुग्ने सबैभन्दा प्रभावकारी सेवा दिनसक्ने सरकारी निकाय भनेको नेपाल प्रहरी नै हो । जनतालाई शान्ति सुरक्षाको प्रत्याभूतिका दिनुका साथै जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकायभित्र आँफैंमा भने बडो उदेक लाग्दो अवस्था सिर्जना भएको छ ।

प्रहरी जवानदेखि प्रहरी महानिरीक्षकसम्म १४ दर्जा रहेको नेपाल प्रहरीमा पछिल्ला समय जुनियर र सिनियर दर्जा स्पष्ट छुट्टिएको छ । एउटै संगठनमा आबद्ध कुनै पनि कर्मचारीहरुका लागि उक्त संगठन प्रेरणा र भरपर्दो स्रोत समान  हुनुपर्ने मान्यता रहे पनि नेपाल प्रहरीमा भने ठीक विपरित छ ।

थोरै तलब खाने र साना पदका कर्मचारीहरु सकेसम्म छिटो अवकाशमा जान चाहने र धेरै सुविधा लिने प्रहरीका ठूला अधिकृतहरु भने सकेसम्म पदावधि बढाउन लागिरहेका छन् ।

जुनियर प्रहरीहरु १६ वर्षमै पेन्सन पाउनुपर्ने भन्दै आवाज उठाइरहेको परिवेशमा सिनियर प्रहरी अधिकृतहरु ३० वर्षबाट पनि थप जागिर खान पाउनु पर्ने भन्दै अदालत धाईरहेका छन् । आखिर एउटै संगठनमा एउटै सरकारको सेवा सुविधा लिएर बसेका कर्मचारीहरु कोहीमा वितृष्णा र कोहीमा यतिविधि लालच किन ?

थोरै तलब खाएर, कम ‘पावर’मा बसेर जागिरे जीवन निर्वाह गरिरहेका तल्ला तहका कर्मचारीहरुले जतिसक्दो छिटो जागिरको अवधि सकाउन चाहिरहेको बेला उच्च पदका कर्मचारीहरुलाई त्यहाँ के छ ? जसले ३० वर्षभन्दा पनि बढीसम्म जागिर खाइरहन पाउँ भन्ने ? बरियताकै आधारमा राम्रो र सुविधासम्पन्न स्थानमा ठाँट जमाउन पाउने लोभकै कारणले सिनियरहरुमा लालच बढेको स्पष्ट हुन्छ ।

हालैमात्र जागिर बढाउने लालचका साथ न्यायलयको दैलो चहार्न पुग्नेमा उच्च अधिकृत मात्रै थिए । जसको जागिरे जीवन जनताले जान्ने गरि स्मरणीय बनेका थिएनन्, खाली जागिर खाई जनतालाई भन्दा पनि आफूलाई महत्व दिएर वर्ष पूरा गरेकाहरु थिए । धन्न न्यायालयले दिएको पछिल्लो आदेश उनीहरुका लागि ‘अन्याय’ भए पनि उनीहरुभन्दा तल्लो दर्जाका कर्मचारीका लागि भने ‘न्याय’ सावित भयो । जसको सिनियरहरु कार्यरत रहेकै अवस्थामा उमेरका कारण अवकाश लिनुपर्ने बाध्यता केही हदसम्म भए पनि कम भयो ।

एउटै संगठनमा बसेका कोहीले सुखद जीवन निर्वाहको परिकल्पनाका लागि १६ वर्षपछि स्वयं केही गर्छु भन्ने  मानसिकताका साथ पेन्सन मागिरहँदा कोही भने ३० वर्ष जागिर खाइसकेपछि पनि अझै त्यही संगठनमा लिसो टाँसिएझैं टाँसिन खोज्नु कत्तिको जायज हो ? दर्जागतरुपमा जुनियर र सिनियर रहनु सामान्य कुरा रहे पनि यहाँ सोचमा भने ठूला अधिकृतहरुमा दरिद्रता स्पष्ट देखिएको छ ।

सुखी संसारको कल्पना गर्दै संगठनमा प्रवेश गरेका तल्ला तहका कर्मचारीहरुको कल्पना सपनामा पनि पूरा नहुने ठान्दै सुखी संसारको आशा गर्दै जागिर छाडेर आप्mनो केही गर्ने अभिप्रायःका साथ १६ वर्षे पेन्सनका लागि लडिरहेका छन् । जसले नेपाल प्रहरीमा तल्ला तहका कर्मचारीहरुमा बढ्दो वितृष्णा छ भन्ने कुरामा कुनै दुईमत नभएको पुष्टी गरेको छ ।

आधिकारिक र खुल्लम् खुल्ला कसैले नभने पनि महानिरीक्षक सचिवालयको कानुन शाखाले प्रकाशित गर्ने सूचनाहरुले पुष्टी गरेका छन् ती कुराहरु । सचिवालयले करिब १५÷१५ दिन जस्तोमा ‘हाजिर हुन आउने’÷‘स्पष्टीकरण बुझाउन निर्देशन दिने’ जस्ता सूचना प्रकाशित गर्नुले त्यस कुरालाई पुष्टी गर्दछ ।

प्रधान कार्यालयले प्रकाशित गर्ने प्रत्येक सूचनामा तल्ला तहका कर्मचारीहरुकै नाम प्रकाशित हुन्छ, जसका लागि संगठनले ७ दिने सूचना जारी गरेको हुन्छ । यसरी प्रकाशित सूचनामा तल्ला तहका कर्मचारीको मात्रै नाम हुनु संगठनमा तल्ला तहका कर्मचारीहरुमा कति वितृष्णा र कति पीडा छ भन्ने कुरा स्पष्ट हुन्छ ।

प्रतिक्रिया