काभ्रेको खानीखोलामा फैलिएको कालाजार नियन्त्रणमा


काभ्रे-काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–७ महांकालका बालबालिकामा केही महिनादेखि देखिएको कालाजारको सङ्क्रमण नियन्त्रणमा आएको छ ।

करिब चार महिनादेखि आठ बालबालिकामा देखिएको कालाजार विशेष निगरानी र ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी कार्यक्रम सञ्चालन गरी नियन्त्रणमा ल्याइएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो ।

हालै मात्र एक पाँच वर्षमुनिका बालकमा कालाजारको सङ्क्रमण देखिएको थियो । कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खानीखोलामा फैलिएको कालाजार पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको बताइन् । उनका अनुसार ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी छिट्काउ कार्यक्रम सञ्चालन गरी कालाजार सङ्क्रमण नियन्त्रणमा ल्याइएको हो ।

कालाजार लाग्न नदिन भुसुनाको टोकाइबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यसको सङ्क्रण भएमा लगातार ज्वरो आउने, छालामा विभिन्न खालका सङ्क्रमण देखापर्ने, वजन घट्ने, खानामा रुची नहुने, पेट बढ्दै जाने र समयमा उपचार हुन नसके बिरामीको मृत्यु हुने गर्छ ।

प्रतिक्रिया