टिकापुर घटनाको ९ वर्ष पूरा, नाबालकसहित ९ जनाले गुमाएका थिए ज्यान


कैलाली – थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपाने सहितका ८ जना प्रहरी र एक नाबालकको मृत्यु भएको आज नौं वर्ष पूरा भएको छ ।

२०७२ साल भदौ ७ गते आजकै दिन सो घटना भएको थियो । उक्त घटनामा मुख्य दोषी रेशमलाल चौधरी भएको अदालतले ठहर गरेको थियो । उनलाई जन्म कैदको सजाय पनि सुनाइएको थियो ।

तर उनी अहिले राष्ट्रिपतिबाट आममाफी पाएर रिहा भइसकेका छन् । सो अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलालले टीकापुर बासीका लागि आजको दिन कालो दिन भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आज सम्पुर्ण टीकापुर बासिका लागि कालो दिन र थारु बिद्रोह भएको दिन भन्दै टिप्पणी गरे । साथै उनले आज आफ्नो श्री सम्पत्ति लुटिएको र आगजनी भएको दिन भनेर सम्झिएका छन् ।

उनले लेखेका छन् – ‘सम्पूर्ण टीकापुर बासीका लागि कालो दिन । थारु विद्रोह भएको दिन । हाम्रो श्री सम्पत्ति लुटिएको,आगजनी भएको दिन ।’

कारागारबाट रिहाइ भएको करिब डेढ वर्ष हुँदापनि आजसम्म फुलबारी एफएमको दैलो टेक्न नसकेको उनले बताए । उनले थपे ‘राजबन्दीको पीडाले नागरिक उन्मुक्ति जन्मियो, मैले त केवल अक्षरांस गरेको हुँ । छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दीको नाममा अरूले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन् ।’

घटनाको करिब साढे ३ वर्षपछि २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उनी थुनामै रहेका बेला प्रतिनिधिसभा चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।

 

प्रतिक्रिया