भारतले नेपाललाई नजिकको छिमेकी ठानेको महसुस गरें : परराष्ट्रमन्त्री देउवा


काठमाडौं – परराष्ट्र मन्त्री आरजु राणा देउवा पाँच दिने भारत भ्रमण सकेर काठमाडौं फर्किएकी छन् । आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले आफ्नो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएको बताइन् ।

नयाँदिल्ली बसाइका क्रममा भारत सरकारले आरजुलाई महत्व दिएको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिष्टाचार भेटमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसहितको टोली उपस्थित थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट भएको बताउँदै मन्त्री राणाले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिइन् ।

मन्त्री राणाले भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटमा व्यापार तथा पारवहन, उर्जा कनेक्टिभिटी, हवाई मार्ग, बाढी तथा डुवान समस्या तथा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमामा पूर्वाधार तथा नेपाल– भारत सम्बन्धलगायत समग्र पक्षमा छलफल भएको बताइन् ।

उनी हरियाणा र बिहारलाई नेपालबाट थप विद्युत निर्यात गर्नुका साथै क्रिकेटमा सहकार्य बढाउनेबारे पनि छलफल भएक थियो । भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा विभिन्न द्विपक्षीय छलफल भए । आरजुले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन् ।

‘नेपाल र भारत बीच सद्भाव बढाउन भूमिका खेल्नेछ । भ्रमणले उच्च स्तरमा सम्बन्ध बढाउन तथा सहयोग अभिवृद्धि गर्नेछ,’ आरजुले सुनाइन् । उनले आफूलाई नयाँ दिल्लीमा गरिएको स्वागत नेपाललाई नै स्वागत भएको बताएकी छन् । पछिल्लो समय भारतले छिमेकी देशलाई प्राथमिकतमा राख्दै कूटनीतिलाई चलायमान बनाइरहेको छ । आरजुले आफ्नो भ्रमणका क्रममा भारतले नेपाललाई नजिकको छिमेकी ठानेको महसुस गरेको बताएकी छन् ।

प्रतिक्रिया