महोत्तरीमा नवविवाहिता युवतीको मध्य राति शंकास्पद मृत्यु


जनकपुरधाम – महोत्तरीमा एक नवविवाहिता महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–८ रमौलकी २० वर्षीया रिना देवी राय छन् ।

माइतपक्ष भने दाइजोको निहुमा पति रोहनकुमार राउतसहित ससुरा पक्षले हत्या गरेको दाबी गरेको छ । रिनाको मंगलबार मध्य राति १ बजे मृत्यु भएको हो ।

घरपरिवारले अचानक बिरामी भएर मृत्यु भएको जानकारी प्रहरी र माइत पक्षलाई दिएको थियो । प्रहरी पुग्दा घरको बरण्डामा रिनाको शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताए ।

डिएसपी जयसवारका अनुसार पति रोहनले राति खाना खाएर सँगै सुतेको, अचानक बिरामी हुँदा प्रादेशिक अस्पताल जलेश्वर उपचारको लागि लगेको र त्यहाँ मृत्यु भएपछि शव घर ल्याएको प्रहरीलाई बयान दिएका छन् । यता माइत पक्षले आफूहरु पुग्दा रिनाको मुखबाट रगत बगेको जस्तो र घाँटीमा निलडाम जस्तो देखिएकोले छोरीको हत्या भएको दाबी गरेको छ । रिना मंगलबार मात्रै माइतबाट ससुरा फर्किएकी थिइन् ।

मृतक रिनाको शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पोस्टमार्टम पश्चात मात्र के कारणले मृत्यु भएको खुल्ने डिएसपी जयसवारको भनाइ छ । घटना सामान्य भएको बताउँदै प्रहरीले भने कसैलाई पनि पक्राउ गरेको छैन ।

धनुषाको हंसपुर नगरपालिका–६ सोनिगामाकी रिनाको गत वैशाख १९ गते सामाजिक परम्परा अनुसार रोहनसँग भएको थियो । जसमा माइती पक्षले लत्ता, कपडा, भाडा बर्तन, फर्निचर, सुन, चाँदीका गहना तथा नगद गरी जम्मा १५ लाख खर्च गरेको बुबा नवलले बताए ।

विवाहको केही दिन दाम्पत्य जीवन राम्रै चलेपनि पछिल्लो समय थप दाइजो माइतबाट ल्याउन भनी छोरी रिनालाई पतिसहित घरपरिवारले निरन्तर झैझगडा, कुटपिट तथा यातना दिने गरेको बुबा नवलको भनाइ छ । बुबा नवलका अनुसार घटना भएको एकदिन अघि रक्षाबन्धनमा छोरी माइत आएकी थिइन् । निराश देखिएकी छोरी रिनाले आफूलाई थप दाइजोको लागि कुटपिट गर्ने गरेको बताएपछि भोलिपल्ट मंगलबार आफैं गएको बुबा नवलको भनाइ छ ।

बुबा नवलका अनुसार त्यसअघि पनि छोरी रिनालाई यातना दिँदा गाउँसमाजमा छलफल भई परिवारजनलाई सम्झाइबुझाइ गरिएको थियो । छोरीको हत्या भएको दाबी गर्दै माइत पक्षले पति रोहनसहित परिवारका चारजनाविरुद्ध प्रहरीमा बुधबार कर्तव्यज्यान मुद्दामा जाहेरी दिएको छ । ससुरा ५२ वर्षीय बृज मोहन राउत, सासु ४८ वर्षीया मनतोर देवी राउत र देवर २५ वर्षीय ओमकुमार राउतविरुद्ध जाहेरी परेको हो । जाहेरी परेको डिएसपी जयसवारले बताए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया