अनाथ बालबालिकाका लागि बालमन्दिर स्थापना गर्ने नेपालकी ‘राजमाता’


‘गाजलु ती ठूला–ठूला आँखा
तीर बनी बसे यो दिलैमा…’

यो गीत पाकिस्तानी गजल गायक गुलाम अलीले गाएका हुन् । तर, यसको रचना चाँही नेपालका तत्कालीन राजा श्री ५ महेन्द्र वीरविक्रम शाहदेवले गरेका थिए । उनले आफ्नी पत्नी बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको सुन्दरता बयान गर्न यो गीत रचेका थिए ।

२०१३ साल वैशाख ३० गते श्री ५ महेन्द्र वीरविक्रम शाहदेवको राज्याभिषेक भएपछि श्री ५ वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह औपचारिक रुपमा नेपालकी ‘राजमाता’ बनेकी थिइन् । १९८५ भदौ ०४ गत जन्मिएकी रत्न राज्य लक्ष्मी देवी शाहको आज ९६औं जन्मदिन परेको छ ।

उनको जन्मदिनको अवसरमा पारेर हिमानी कोषले शुक्रबार धापाखेल, ललितपुरको नविकरण बाल आश्रममा सहयोग गरेको थियो । बाल आश्रममा रहेका ४५ जना बालबालिकाहरुलाई रातिको खाना र १ महिनालाई पुग्ने रासन सामग्रीसमेत वितरण कोषले जनाएको छ ।

कोषले बाल आश्रममा सहयोग गर्नुको पछाडि एउटा कारण रहेको छ । त्यो हो रत्न राज्यलक्ष्मी देवी शाहको बालबालिकाप्रतिको मोह र माया । रत्नले बेबारिसे नाबालकहरुलाई हेरचाह गर्न एउटा कानुन बनाएकी थिइन्, राष्ट्रिय निर्देशिका ऐन २०१८ । सोही कानुनमा रहेर २०२० देखि ७५ वटै जिल्लामा जग्गा वा घर अधिकरण गरी बाल मन्दिरहरु खुलेका थिए ।

सुरुमा रत्नले नै आमाबुबा नभएका टुहुरा, बुवाको मृत्यु भएर आमाले छाडेर गएका तथा अनाथ बालबालिकालाई आवासीय सुविधा दिएर बालमन्दिरमै जागिरे आमाहरुलाई राखेर खानपिन सबै सुविधा गरी पठनपाठन समेत गराउन सुरु गरेकी थिइन् ।

हाल ती बालमन्दिरहरु सञ्चालन गर्न नसक्दा बन्द भइसकेका छन् । उनले २०१६ सालदेखि प्रवेशिका परीक्षामा महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने छात्रालाई रत्न विद्यापदक प्रदान गर्ने कार्यको सुरुवात गरेकी थिइन् ।

२०११ देखि २०२८ सम्म नेपालको बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी रहेकी रत्न राजा महेन्द्र वीर विक्रम शाहको दोस्रो पत्नी थिइन् । रत्नकी दिदी इन्द्रको १९९६ मा युवराज महेन्द्रसँग विवाह भएको थियो । तर, १८ भदौ ००७ मा इन्द्रको मृत्यु भयो ।

दुई वर्षपछि महेन्द्रले साली रत्नसँग विवाह गरे । इन्द्रबाट तीन छोरा र तीन छोरी (शान्ति, वीरेन्द्र, ज्ञानेन्द्र, शोभा र धिरेन्द्र) जन्मेका थिए । सोही कारण थप छोराछोरी नजन्माउन रत्नको बन्ध्याकरण गराइएको थियो । महेन्द्रका बुबा राजा त्रिभुवनको २०११ मा मृत्यु भएपछि युवराज महेन्द्र राजा र रत्न रानी भएकी थिइन् ।

२०२८ माघ १७ बिहान ३ः४५ मा राजा महेन्द्रको चितवनको दियालो बङ्गला दरवारमा मृत्यु भएको थियो । उनको निधन पश्चात्, उनका जेठा पुत्र युवराज वीरेन्द्रले राजगद्दी सम्हालेका थिए । त्योबेलादेखि रानी रत्न मुमा बडामहारानी भइन् ।

२०५८ जेठ १९ को राति दरबार हत्याकाण्ड हुँदा मुमा रत्नराज्यलक्ष्मी देवरानी राजकुमारी हेलेन शाहसँग बसिरहेकी थिइन् । उनीहरू बेग्लै कोठामा बसेका हुँदा बाँचेका थिए । संविधान सभा निर्वाचन २०६४ पछि नेपालमा २०६५ सालमा राजतन्त्र अन्त्य भयो । राजपरिवारको सबै सदस्यहरुले नारायणहिटी दरबार, छोड्नुपर्ने भयो तर मुमा बडामहारानी रत्नलाई महेन्द्र मञ्जिलमा बस्न अनुमति दिइएको थियो ।

हाल उनको नामबाट काठमाडौंको रत्नपार्क, रत्न मन्दिर र रत्न राजमार्ग सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया