कोलकातामा महिला चिकित्सकको बलात्कार र हत्याको मुद्दामा ‘लाइभ’ सुनुवाइ


काठमाडाै- भारतकाे कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले आज ‘लाइभ’ सुनुवाइ गरिरहेकाे छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यो मुद्दाको सुनुवाइ गरिरहेका छन् । अदालतले उक्त मुद्दामा आठ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । एम्सका निर्देशक डा एम श्रीनिवासन बाहेक अरु धेरै डाक्टरहरुको नाम यसमा सामेल छ ।

सर्वोच्च अदालतले भन्यो, “सर्वोच्च अदालतले महिला काममा जान नपाउने र काम गर्ने अवस्था सुरक्षित नभएको खण्डमा उनीहरूलाई समानता नदिइने प्रष्ट हुन्छ । अधिकांश युवा चिकित्सकहरू ३६ घण्टा काम गर्छन्, काम गर्न सुरक्षित अवस्था सुनिश्चित गर्न राष्ट्रिय प्रोटोकल सिर्जना गर्न आवश्यक छ।”

याे घटनालाई लिएर देशका धेरै भागमा विरोध प्रदर्शन भइरहेको छ । पश्चिम बंगालको कोलकातामा रहेको सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलको घटनामा दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन् । उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन् ।

सर्वोच्चले यस घटनामा प्रहरी कारबाही र पीडित परिवारलाई अन्धकारमा राखेको आरोपबारे पनि प्रश्न गरेको छ । अदालतले यस मामिलामा एफआईआर दर्ता गर्न पनि ढिलाइ भएको बताएकाे छ । ‘एफआईआर दर्ता गर्ने जिम्मा अस्पतालको थियो । तर राति अबेर एफआईआर दर्ता भयो । यस विषयमा अस्पताल प्रशासनले के गरिरहेको छ ? पीडितको शव पनि लामो समयपछि अभिभावकलाई बुझाइएको छ भनेर अदालतले प्रश्न गरेकाे छ ।

अदालतले आरजी कार मेडिकल कलेजका प्रिन्सिपल सन्दीप घोषको बारेमा पनि धेरै प्रश्न उठाएकाे छ । अदालतले यो निकै डरलाग्दो घटना भएको बताएको छ । ‘प्रिन्सिपलले पहिलो घटनालाई आत्महत्या भन्न खोजे। आखिर के गर्दै हुनुहुन्थ्यो प्रधानाध्यापक ?’ सर्वोच्चले सोध्यो ‘यो मुद्दापछि प्रधानाध्यापकलाई अर्को ठाउँमा कसरी नियुक्त गरियो ?’

के हाे घटना ? 

गत शनिबार राति आरजी कार मेडिकल कलेजको सेमिनार हलमा  एक प्रशिक्षार्थी महिला डाक्टरको बलात्कारपछि हत्या भएको थियो । भोलिपल्ट बिहान उनको शव फेला परेपछि डाक्टरहरुले आन्दोलन गरिरहेका छन् । काेलकता उच्च अदालतले यस मामिलामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई अनुसन्धान गर्न भनेकाे छ ।

घटनामा एक संदिग्ध पक्राउ परिसकेका छन् । कोलकाता पुलिसले आरजी कार मेडिकल कलेज अस्पतालका पूर्व प्रिन्सिपल सन्दीप घोषविरुद्ध पनि एफआईआर दर्ता गरेको छ ।  घटना भएको दिन बलात्कार पीडितको नाम र पहिचान सार्वजनिक गरेको भन्दै उनीविरुद्ध एफआइआर दर्ता गरिएको छ ।

प्रतिक्रिया