परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच सोमवार भेटवार्ता हुने


काठमाडौं – परराष्ट्र मन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वीचमा सोमवार भेटवार्ता हुने भएको छ ।

सोमबार साँझ भेटका लागि समय तय भएको भारतस्थित नेपाली दूतावास स्रोतले जानकारी गराएको छ । सोमबार नै राणाले भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्ने भएकी छन् ।

चार दिने भ्रमणका लागि परराष्ट्र मन्त्री आइतबार दिल्ली प्रस्थान गरेकी छन् । राणाले भ्रमणका क्रममा स्वास्थ्य उपचार पनि गर्ने जनाइएको छ । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निम्तोमा भ्रमणमा गएकी परराष्ट्रमन्त्री राणासँगमा छोरा, बुहारी, भाइ, आमालगायतका सदस्य पनि छन् ।

परराष्ट्रमन्त्री राणाका छोरा जयवीर सिंह देउवा, बुहारी शिवाना श्रेष्ठ, भाइ भूषण राणा, आमा प्रतिभा राणा र अन्य पारिवारिक सदस्य पनि नयाँ दिल्लीमा छन् । मन्त्री राणालाई नयाँ दिल्लीमा रहँदा भारत सरकारले नै सरकारी गाडीसहितको सुरक्षा उपलब्ध गराएको छ ।

राणालाई स्वागत गर्न भारत सरकारले डीएल ३ सीसीवाई ००८ नम्बरको मर्सिडिज बुलेड प्रुफ कार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पठाएको थियो । नयाँ दिल्ली पुगेसँगै उनी साकेटस्थित सेराटन होटलमा भेटघाटका कार्यक्रम गरिरहेकी छन् । उनको बसाइँ पनि सोही होटलमा व्यवस्थापन गरिएको छ ।

 

प्रतिक्रिया