सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


काठमाडौं –  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज उनले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव राखेका हुन् ।

कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुनेमा मुख्यमन्त्री शाहले ३६ मत प्राप्त गरे । आजको प्रदेश सभा बैठकमा कूल ४५ सांसदको उपस्थिति रहेको थियो ।

उनलाई सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले मत दिएका थिए । विश्वासको मतको विपक्षमा ८ मत र तटस्थमा १ मत परेको थियो ।

प्रतिक्रिया