पर्वतमा कृषि र पशुपालनतर्फ १७ करोड बढी बजेट


पर्वत – चालु आर्थिक वर्षमा पर्वतमा कृषि र पशुपालनका क्षेत्रमा रु १७ करोड भन्दा बढी बजेट खर्च हुने भएको छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालु आवमा कृषि उत्पादकत्व वृद्धि र प्रवर्द्धन तथा व्यावसायिक पशुपालनका क्षेत्रमा रु १७ करोड १९ लाख ८५ हजार बजेट खर्च हुने भएको हो ।

खाद्यान्न, फलफूल, सागसब्जी, तेलहन, दलहन उत्पादन गरी जिल्लालाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गरी किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालु आवमा कृषि र पशुपालनमा बजेट केन्द्रित गरिएको ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए ।

पशुपालनतर्फ पनि दूध, घ्यू, माछा मासु, अण्डामा जिल्लालाई आत्मनिर्भर बनाई निर्यात बढाउने उद्देश्यले बजेट छुट्याएर कार्यक्रम बनाइएको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत रहेका कृषि ज्ञान केन्द्रमार्फत पाँच करोड ८२ लाख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत चार करोड १५ लाख र सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइमार्फत सात करोड २२ लाख ८५ हजार बजेट प्राप्त भएको छ ।

परियोजनाका केही कार्यक्रम छिमेकी जिल्ला बागलुङ र गुल्मीमासमेत सञ्चालन हुने भएका छन् । ज्ञान केन्द्रले गत वर्षदेखि सञ्चालनमा ल्याएको खायन आलु उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सफल भएपछि चालु आवमा पनि निरन्तरता दिइएको केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए । आलुखेती प्रवर्द्धन गर्न एक करोड ४७ लाख विनियोजन गरिएको छ । कार्यालयका अनुसार तरकारी बाली प्रवर्द्धन आयोजनाका लागि १२ लाख ५० हजार, पोषण सुरक्षा कार्यक्रमका लागि रु २० लाख विनियोजन गरिएको छ ।

जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रमका लागि रु १० लाख, बीउ उत्पादन प्रवर्द्धनतर्फ १२ लाख ५० हजार, मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धनतर्फ १० लाख र रैथाने बाली प्रवर्द्धन आयोजनाका लागि रु नौ लाख ५० हजार विनियोजन गरिएको छ ।

खाद्यान्नबाली प्रवर्द्धन आयोजनातर्फ रु २६ लाख, ६० हजार, सुन्तला जात फलफूल विकास आयोजनाका लागि एक करोड १८ लाख विनियोजन गरिएको छ । पर्वतबाट सबैभन्दा बढी निर्यात हुने फलफूलमा सुन्तला रहेकाले यसको खेती विस्तारलाई जोड दिइएको केन्द्रले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपालन किसासलाई लक्षित गरेर चालु आवमा विविध कार्यक्रम निर्धारण गरिएको कार्यालय प्रमुख पुष्पराज बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पर्वत दूध र माछा, मासुमा आत्मनिर्भर बनिसकेको छ भने अण्डा पनि केही मात्रामा आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षमा पशुमा पूर्ण खोप कार्यक्रमतार्फ रु ९८ लाख छुट्ट्याइएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागि २० लाख, पशु विकास प्रवर्द्धनतर्फ ५० लाख, पशु तथा मत्स्य व्यवसाय प्रवर्द्धनतर्फ एक करोड १३ लाख ५० हजार, पशु स्वास्थ्य कार्यक्रमतर्फ ३५ लाख ३० हजार, किसानको क्षमता अभिवृद्धितर्फ सात लाख, पशु आहारा प्रवर्द्धनका लागि छ लाख र स्थानीय पशुपक्षी संरक्षण कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको कार्यालय प्रमुख बाँस्तोलाले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाइमार्फत पर्वतमा मकै, धान, तरकारी र सुन्तलाखेतीको प्रवर्द्धन गर्न विभिन्न योजनमा बजेट खर्च गरिने भएको छ । विगत आठ वर्षदेखि जिल्लामा सञ्चालित योजना तथा परियोजनाले सुरुमा मकैबालीको प्रवर्द्धनमा लगानी गरेको थियो । अहिले मकैको बीउको स्रोत केन्द्रनै पर्वत बनेको छ । जिल्लाको फलेवास, महाशिला र विहादी गाउँपालिकामा मकैको मूल बीउ उत्पादन गरी निर्यात हुन थालेको छ ।

त्यसैगरी पोखरेली जेठोबुढो धान उत्पादन र यसको स्रोत बीउ उत्पादनमा अहिले सक्रिय बनेको छ । गत आर्थिक वर्षमा पर्वतबाट पोखरेली जेठो बुढो धानको १२ मेट्रिक टन बीउ निर्यात भएको थियो भने पोखरेली जेठो बढो धान ३० मेट्रिकटन निर्यात भएको थियो ।

चालु आवमा विनियोजित बजेट वितरणमुखी भन्दा पनि दीर्घकालीन योजनालाई जोड दिइएको छ । यस वर्ष दुईवटा चिस्यान केन्द्र (कोल्ड रुम) स्थापनाका लागि ३५ लाख ५० हजार विनियोजन गरिएको छ भने सिँचाइ पूर्वाधार निर्माण तथा मर्मततर्फ ३० लाख विनियोजना गरिएको छ । त्यसैगरी चक्लाबन्दीमा आधारित फलफूल बगैँचा व्यवस्थापन, बीउ उत्पादन, मसिना धान प्रवर्द्धन, प्याकेजिङ लेभलिङ तथा क्षति न्यूनीकरण कार्यक्रमका लागि बजेटलाई प्राथमिकता दिइएको परियोजनाका निमित्त प्रमुख नारायण पौडेलले जानकारी दिए ।

सिँचाइ पूर्वाधार निर्माण गर्न यसवर्ष ७५ लाख, प्लास्टिक घर निर्माण गर्न ३५ लाख, तरकारी जोनका लागि १० लाख ३० हजार, उद्यमशील कार्यक्रमतर्फ अनुदान ४० लाख, व्यावसायिक प्याज प्रवर्द्धन गर्न आठ लाख ५० हजार विनियोजन भएको पौडेलले बताए ।

तीनवटै कार्यालयले वार्षिक बजेट तथा कार्यक्रम एक समारोहकाबीच सार्वजनिक गर्दै विनियोजित बजेटबारे जानकारी दिएका थिए । पर्वतमा गत आर्थिक वर्षमा स्थानीय तहसमेत गरी २० करोड ८१ लख ५५ हजार खर्च भएको थियो । गत आवमा नगरपालिका र स्थानीय तहबाट नौ करोड ४६ लाख ६४ हजार बजेट विनियोजन भएको थियो ।

प्रतिक्रिया