घुस दिएको आरोप लगाएका सांसद महतोको अभिव्यक्ति ‘झुटो’


काठमाडौँ – समकक्षता (इक्युभ्यालेन्ट) लिन ५ हजार रुपैयाँ घुस दिएको आरोप लगाएका सांसद वीरेन्द्र महतोले झुटो बोलेको पाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिले समकक्षता लिनका लागि ५ हजार रुपैयाँ घुस दिएको भन्ने आरोप झुटो भएको पत्ता लगाएको हो ।

जनता समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री महतोले २०८१ साउन ६ गते संसदमा आफ्नो भनाइ राख्दै छोराको समकक्षता लिन पाठ्यक्रम विकास केन्द्रका कर्मचारीलाई ५ हजार रुपैयाँ घुस दिनुपरेको बताएका थिए ।

उनको सो भनाइपछि गृह मन्त्री रमेश लेखकले यसबारे छानबिन गर्न निर्देशन दिएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समेत शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्त कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले सांसद महतोको छोराको सर्टिफिकेट समकक्षता गर्न कर्मचारीलाई घुस दिएको अभिव्यक्ति झुटो भएको निष्कर्ष निकालेको हो ।

केन्द्रको समकक्षता शाखाको परिसरमा ल्यापटप लिएर आएका एक जना सेवाग्राहीको सहायता लिएर समकक्षताका लागि अनलाइन फारम भरेर एकै दिनमा काम भएको छानबिनको क्रममा पाइएको छ । उनका छोराले खुसी भएर ती व्यक्तिलाई खाजा खर्चका लागि पाँच हजार रुपैयाँ दिएको पाइएको हो । आफूखुसी दिएको पैसालाई महतोले घुस दिएको भन्दै अभिव्यक्ति दिएको पाइएको हो ।

प्रतिक्रिया