पर्यटकका लागि नेपाल र भियतनामबीच दुई चार्टर उडान हुने, भियतनाम टुर प्याकेजकाे कति ?


काठमाडौं- सिधा उडान सम्पर्क नभएको भियतनाम र नेपालबीच पर्यटक आदानप्रदान गर्ने उद्देश्यले दुइटा चार्टर उडान हुने भएका छन् । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम लैजाने भएको छ । त्यसै दिन भियतनामबाट १ सय ५० हाराहारी पर्यटक नेपाल आउने भएका छन् ।

भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको छ ।

त्यसै गरी नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ ।

रुप्सेले भियतनाम भ्रमणका लागि १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ । उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

कुल १ लाख ९ हजार ९ सय ९९ रुपैयाँको टुर प्याकेज भए पनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा भ्रमण गर्न सकिने रुप्सेले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया