नेपाली महिला भलिबल टिमका खेलाडीलाई जनही ५० हजार दिइने


काठमाडौँ – काभा महिला भलिबल नेसन्स लिगमा दोस्रो भएको नेपाली महिला भलिबल टिमका खेलाडीलाई नेपाल भलिबल संघले जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

संघको कार्यसमिति बैठकले खेलाडीलाई नगद पुरस्कार दिने निर्णय गरेको हो । नेपाली महिला भलिबल टिमले लिग चरणमा भारतलाई हराए पनि फाइनलमा पुनः भारतसँग नै ५ सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो ।

दोस्रो भएको महिला भलिबल टिमका खेलाडीलाई संघले ५० हजारका दरले सम्मान गर्न लागेको हो । यस्तै, माल्दिभ्समा भएको यु-ट्वेन्टी काभा महिला भलिबल प्रतियोगितामा कास्य पदक हात पारेको नेपाली टिमका सदस्यलाई जनही १५ हजार तथा भुटानमा भएको काभा विच भलिबल प्रतियोगितामा स्वर्ण पदक हात पारेका महिला टिमकी कमला पुन र मनीषा चौधरीलाई जनही ६० हजार रुपैयाँ दिइने भएको छ ।

यस्तै, विच भलिबलमै पुरुषतर्फ रजत पदक हात पारेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनुवारलाई जनही ३० हजारका दरले पुरस्कार दिने भलिबल संघले जनाएको छ ।

संघले काभा महिला भलिबल नेसन्स लिगबाट उठेको ३५ लाख रुपैयाँ खेलाडीकै लागि खर्च गर्ने घोषणा अनुरूप यो पुरस्कार दिन लागेको हो । तर, पुरस्कार कहिले वितरण गर्ने भन्ने कुरा संघले सार्वजनिक गरेको छैन । यस्तै, काभा महिला नेसन्स लिगकै लागि सरकारले छुट्याएको २५ लाख पनि अहिलेसम्म संघले प्राप्त गर्न सकेको छैन ।

प्रतिक्रिया