शीर्ष नेतालाई टीआरसी विधेयकको प्रतिवेदन भोली बुझाउँदै
काठमाडौँ – सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन बुधबार शीर्ष नेतालाई बुझाउने भएको छ ।
कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार बुझाउने तय भएको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘बुधबार बिहान ११ बजे तीन दलका शीर्ष नेतालाई संयुक्त रूपमा प्रतिवेदन बुझाउने कार्यक्रम तय भएको छ,’ बर्तौलाको भनाइ छ । नेता बर्तौलाका अनुसार शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर जारी संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ ।
उक्त विधेयकमा सहमति जुटाउन एमालेबाट बर्तौला, काँग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो ।