सिमलताल दुर्घटनाकाे प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयाे


काठमाडौं-  सिमलताल दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखक समक्ष प्रतिवेदन पेस गरेका छन् ।

मन्त्री नियुक्त भएपछि लेखकले असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए । दुर्घटनाको कारण, मृतक परिवार पाउनपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

गत असार २८ गते वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए।  दुवै बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । उनीमध्ये २४ जनाकाे मात्रै शव भेटिएकाे छ ।

प्रतिक्रिया