दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको ‘ब्ल्याक बक्स’ सिंगापुर पठाइयो


काठमाडौँ – दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको ब्ल्याक बक्स परीक्षणका लागि सिंगापुर पठाइएको छ ।

जहाज दुर्घटनाको छानबिन तथा अध्ययनको सिलसिलामा रहेको आयोगले भ्वाइस रेकर्ड तथा घटना विवरणको जाँच गर्न सकिने ब्ल्याक बक्स परीक्षणका लागि सिंगापुर पठाइएको हो । ब्ल्याक बक्स बोकेर दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष रतिशचन्द्र लाल सुमन आफै सिंगापुर पुगेका हुन् ।

अध्ययनका सन्दर्भमा ब्ल्याक बक्स बोकेर अध्यक्ष आफैँ सिंगापुर गए पनि थप सूचना नआएको र उनी फर्किसकेपछि विज्ञप्तिमार्फत सार्वजनिक गरिने आयोगका सदस्य सुदीप भट्टराईले बताए ।

साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त जहाजमा सवार १९ जनामध्ये १८ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । क्याप्टेन मनिषरत्न शाक्य भने सकुशल उद्धार भएका थिए । आवश्यक उपचारपछि केएमसी शिक्षण अस्पताल सिनामंगलबाट क्याप्टेन शाक्य डिस्चार्ज भइसकेका छन् ।

घटनाको सत्य तथ्य छानबिन गर्न भन्दै जहाज दुर्घटना परेकै दिन सरकारले ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा गठित दुर्घटना जाँचबुझ आयोगको सदस्यहरूमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक इन्जिनियरिङ क्याम्पसका मेकानिकल इन्जिनियर तथा विभागीय प्रमुख सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी र त्रिभुवन विमानस्थल (टीआईए) का एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन् ।

यसअघि २०७९ माघ १ गते पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको ब्ल्याक बक्स पनि परीक्षणका लागि सिंगापुर नै पठाइएको थियो ।

 

प्रतिक्रिया