बीमा रकम ठगी गर्ने उद्देश्यले ‘सपिङ सेन्टर’ मा सञ्चालक आफैले लगाए आगो


पोखरा – पोखरा महानगरपालिका–६ नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा सञ्चालक आफैले आगो लगाएको पाइएको छ ।

यही साउन १६ गते राति उक्त सपिङ सेन्टरमा भएको आगलागी सञ्चालक आफैले लगाएको पाइएको कास्की प्रहरीले जनाएको छ । पसलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको थियो ।

अनुसन्धान गर्नेक्रममा बीमा रकम ठगी गर्ने उद्देश्यले सञ्चालक आफैले आगो लगाएको पाइएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । पक्राउ पर्नेमा पोखरा–१८ ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र विरौटाका ४३ वर्षीय पवन नेपाल छन् ।

बीमा रकम ठगी गर्ने उद्देश्यले नै उनीहरु आफैले पसलमा आगो लगाएको विभिन्न प्रमाणले पुष्टि गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।

दुवै सञ्चालकले सल्लाह गरेर नै राति पसलमा आफैले सलाई कोरेर आगो लगाएको बयानका क्रममा स्वीकार गरेको डीएसपी शर्माले बताएका छन् । सञ्चालकले सुरुमा पसलको बीमा नभएको बयान दिएका थिए । तर हिमालयन एभरेष्ट इन्स्योरेन्सको पोखरा शाखामा दुई करोड १० लाख बराबरको बीमा गरेको पाइएको प्रहरीले जनाएको छ । पसलमा आगलागी भएको भोलिपल्टै सञ्चालक बीमा रकम दावीका लागि निवेदन दिइएको पाइएको डीएसपी शर्माले बताए ।

प्रहरीका अनुसार शुरुमा सञ्चालकले इन्भर्टरको तार सर्ट भएर आगो लागेको बताए पनि इन्भर्टर कम्पनीका प्रतिनिधिले इन्भर्टरबाट आगलागी नहुने र विद्युत प्राधिकरणले सो पसलको विद्युतमा कुनै कैफियत नभएको जानकारी गराएपछि उनीहरुको बदमासी खुलेको थियो ।

मुक्तिनाथ सपिङ सेन्टर खासै नचलेको र सामान धेरै मात्रामा स्टक भएको र घरधनीसँग भाडालगायतका विषयमा विवाद पनि रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैविरुद्ध आपराधिक उपद्रव गर्न नहुने शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया