काकी केन्द्रमा मन्त्री भएकाले सुदूरपश्चिममा मुख्यमन्त्रीको दौडबाट बाहिरिँदै भतिजा, दाेहाेरिँदै शाह


काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको समय आज सकिँदै छ । गत शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले आइतबारसम्मको समय दिएर सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

सुदूरपश्चिमको नेतृत्व कांग्रेसले पाउने भएदेखि नै पूर्व मुख्यमन्त्री कमलबहादुर शाह पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका भतिजो प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकांक्षा देखाएका थिए । त्यसपछि  प्रकाश देउवालाई मुख्यमन्त्री बनाउने लगधग पक्कापक्की भएको थियो ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि सुदूरपश्चिममा अन्य आकांक्षीपछि हटेका छन् । केन्द्रमा देउवापत्नी आरजु राणा देउवा परराष्ट्रमन्त्री भएकाले भतिजा प्रकाशलाई मुख्यमन्त्री दिन देउवाले नमानेको बताइएको छ । ‘माथि भाउजू मन्त्री भएको हुनाले यता माहोल मिलेन’ कांग्रेसका एक प्रदेशसभा सदस्यले भने ।

पत्नि आरजु देउवालाई परराष्ट्र मन्त्री बनाएका बेला भतिजालाई मुख्यमन्त्री बनाउदा राम्रो सन्देश नजाने र परिवारवादको आरोप खेप्ने डरले शाहलाई मुख्यमन्त्री बनाउन लागिएकाे स्राेतले बताएकाे छ ।

उनका अनुसार यसअघि मुख्यमन्त्री भइसकेका शाहले लामो समय काम गर्न नपाएका कारण पनि अहिले उनकै नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेको छ । संसदीय दल नेता समेत रहेका शाहलाई नै मुख्यमन्त्री बनाउन देउवाले निर्देशन दिएपछि  बाँकी आकांक्षीहरू सहमत भएको उनले बताए ।

योसँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्री बन्ने भएका छन् । राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका शाहले १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया