सिनामंगल गेष्ट हाउसमा मृत भेटिएका महिला-पुरुष ‘दाजु–बहिनी’


काठमाडौं – काठमाडौँको सिनामंगलमा आज दिउँसो मृत भेटिएका युवक र युवती नजिकका दाजु–बहिनी भएको खुलेको छ ।

बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९ वर्षीया करिस्मा सार्की काठमाडौँ महानगरपालिका–९ शम्भुमार्गस्थित झर्ना गेस्ट हाउसमा मृत भेटिएका थिए ।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा करिस्मा घाँटी काटिएको र भरत झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । करिस्मा आफ्ना दुई भाइसँग काठमाडौंमा बस्दै आएको पाइएको छ । भरत रोजगारीका लागि भारतको मुम्बईमा थिए । चार वर्षअघि मुम्बई गएका उनी गाउँ फर्किएका थिएनन् । अहिले उनी काठमाडौं आएको पनि परिवारलाई जानकारी नभएको खुलेको छ ।

भरत र सरिता नजिकका दाजु–बहिनी भएको र गाउँमा घर पनि तल र माथि रहेको उनीहरुको आफन्तले जानकारी दिएका छन् । उनीहरू धेरै नजिक भएको हल्ला चलेपछि आफूहरुले घरमै उनीहरूलाई सम्झाएको र त्यसपछि मुम्बई गएको भरत गाउँ नफर्किएको उनीहरुको भनाइ छ । अहिले काठमाडौँ आएको पनि आफूहरुलाई जानकारी नभएको उनीहरुले बताएका छन् । घटनाबारे जानकारी पाएपछि परिवारलाई खबर गरिसकेको वडाध्यक्ष गणेशबहादुर साउदले जानकारी दिए ।

करिस्मा र भरत साउन १५ गतेदेखि नै उक्त गेस्ट हाउसमा बसेको सञ्चालकले जानकारी दिएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । घटनाको अनुसन्धान अगाडि बढाइसकेको एसपी  नवराज अधिकारीले बताए ।

प्रतिक्रिया