
किताब जात्रा सुरू, शिक्षा र चेतनाको स्तर उकास्न उपयोगी
काठमाडौं । किताब जात्राको छैटौं संस्करण शुक्रबारबाट सुरु भएको छ ।
लेखक र पाठकबीच अन्तरंग विमर्श हुने यस जात्राको शुक्रबार शिक्षामन्त्री विद्या भट्टराई र अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।
जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखि नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताए ।
मुलुकमा राजनीतिक स्थायित्वका लागि योगदान सबैले हातेमालो गर्दै आर्थिक, सामाजिक रुपान्तरण र विकासका लागि सहकार्य गर्नुपर्ने पौडेलले बताए ।
‘आज देशको साझा उद्देश्य ‘समृद्ध नेपाल सुखी नेपाली’ हो । उक्त उद्देश्यमार्फत राष्ट्रिय आकांक्षालाई हासिल गर्नका निम्ति सबैले आ–आफ्नो ठाउँबाट राजनीतिक स्थायित्वका लागि योगदान दिन जरुरी छ । आर्थिक, सामाजिक रुपान्तरण र विकासका निम्ति पनि योगदान दिन जरुरी छ । यस राष्ट्रिय चाहनालाई शिक्षा र चेतनाको माध्यमबाट योगदान दिनका लागि सबैलाई हार्दिक धन्यावाद दिन चाहन्छु,’उनको भनाइ थियो ।
किताब जात्राको छैटौं संस्करण सुरु भएकोमा खुशी व्यक्त गर्दै उनले जात्रालाई अविचलित र अविराम अगाडि बढाउन सुझाए ।
समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि आयोजना हुने हरेक प्रकारका कार्यक्रमहरुलाई सरकारको पुर्ण साथ र सहयोग रहेको उनको भनाइ छ ।



कागजपत्र |
