अस्पतालमा डेङ्गुका बिरामीको चाप बढ्यो


पर्वत – पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् ।

अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेङ्गुका लक्षण देखिएका बिरामीको सङ्ख्यासमेत अत्यधिक रहेको छ ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाका अनुसार पछिल्लो समय जटिल खालका डेङ्गुका बिरामी भेटिएका छन् । यस वर्ष पर्वत अस्पतालमा डेङ्गु पत्ता लागेका १० बिरामीमध्ये दुईजना गम्भीर छन् । डा बास्तोलाले भने“उनीहरूलाई भर्ना गरेरै उपचार गरिरहेका छौँ ”।

वर्षासँगै बढेको अत्याधिक गर्मीका कारण पनि डेङ्गुका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । त्यस्तै प्रतिकूल मौसमका कारण भाइरल ज्वरोका बिरामीको सङ्ख्या पनि बढ्दै गएको छ । जटिल खालका बिरामीलाई विशेष परीक्षण गर्ने गरिएको डा बास्तोलाले बताए।

“सामान्य अवस्थाको तुलनामा करिब दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ । हामीले एकै दिनमा तीन सय भन्दा बढीको स्वास्थ्य परीक्षण गरेका छौँ”, डा बास्तोलाले भने । गर्मीयाम, दूषित पानीको प्रयोग, लामखुट्टेबाट नजोगिँदा बिरामीको सङ्ख्या बढी मात्रामा देखिएको हो । उनले डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु नै सर्वोत्तम उपाय हुने बताए । यसका लागि नियमित झुलको प्रयोग गर्ने, घर वरपर सफा पानी जम्मा हुने ठाउँ सफा गर्नुपर्ने, झोलिलो र पोषिलोयुक्त खानपान गर्नाले दुवै रोगबाट बच्न सकिने डा बास्तोलाको सुझाव छ ।

अस्पतालमा रहेका ५६ शय्यामा भाइरलका बिरामी भरिभराउ छन् । अधिकांश उपचार गरेर फर्किने गरेका छन् । यस्तै स्वास्थ्य बीमा गरेपछि पनि स्वास्थ्य परीक्षण गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको र उनीहरूले स्वास्थ्यमा सामान्य समस्या आउँदा साथ नै स्वास्थ्य परीक्षणको लागि अस्पतालमा पुग्ने गरेका छन् ।

प्रतिक्रिया