चार धामको यात्रामा निस्कने यात्रुलाई सचेत रहन उत्तराखण्डका डीजीपीको आग्रह


काठमाडाैं- भारतको उत्तराखण्डमा भारी वर्षाले जनजीवन प्रभावित भएको छ । बुधबारको अविरल वर्षाले धेरै ठाउँको जनजीवन प्रभावित भएको हाे । साे समयमा छुट्टाछुट्टै दुर्घटनामा दश जनाको मृत्यु भएको छ ।

भारी वर्षा र बादल फुटेका कारण चारधाम यात्रा पनि अवरुद्ध भएको छ । सडकको भग्नावशेष हटाउन दिनभरि लाग्ने भएकाले पटकपटक चारधाम तीर्थयात्री तथा स्थानीय बासिन्दालाई समस्या हुने गरेको छ ।

यसैबीच उत्तराखण्डका डीजीपी अभिनव कुमारले चार धाममा जाने तीर्थयात्री र भक्तहरूका लागि अलर्ट जारी गरेका छन् ।
मौसम विभागले उत्तराखण्डका अधिकांश जिल्लामा भारी वर्षाको चेतावनी जारी गरेको उल्लेख गर्दै उनले यात्रा गर्दा सावधानी अपनाउन र केही विश्रामपछि मात्र यात्रा सुरु गर्न अनुरोध गरेका छन् ।

साथै सुरक्षित स्थानहरूमा रोकिएर  स्थानीय अधिकारीहरूको निर्देशनहरू पालना गर्नसमेत उनले अनुराेध गरेका छन् ।  उनले मौसम जानकारी लिएर सचेत रहन पनि आग्रह गरेका छन् ।

त्यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले रुद्रप्रयाग जिल्लाका विभिन्न स्थानमा अलपत्र परेका मानिसको हेलिकप्टरबाट उद्धार भइरहेको जानकारी दिएका छन् । हालसम्म विपद् प्रभावित क्षेत्रबाट ठूलो संख्यामा मानिसलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले विपद्को समयमा स्थानीय जनता र पर्यटकको सुरक्षाका लागि  सरकारले लगनशीलताका साथ काम गरिरहेको बताएका छन् ।

 

प्रतिक्रिया