

बल्खु खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु, डुबानमा ललितपुर

काठमाडाैं- बल्खु खोलाको बाढीले बगाउँदा काठमाडौँमा एकजनाको मृत्यु भएको छ ।
प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा एक शव फेला पारेको हो । उक्त शव बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको भएको प्रहरीले जनाएको छ ।
काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले बताए ।
काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि बाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो ।
बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए ।
यस्तै अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् ।
ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।
‘डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरूष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ’, सूचना अधिकारी सुवेदीले भने ।
ललितपुर महानगरपालिका-२ सानेपा, वडा नं ९ शङ्खमुल, वडा नं १ कुपण्डोल, महालक्ष्मी नगरपालिका-७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका-९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरूद्ध भएको छ ।
बाढीका कारण गोदावरी नगरपालिका-१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन् । बाढीकै कारण महालक्ष्मी नगरपालिका-८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेर सडक अवरुद्ध भएको छ ।
पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।

