
पेरिस ओलम्पिक: जुडोमा मनीता पराजित
काठमाडौं – नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक-२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् ।
इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनीता इप्पोनका आधारमा पराजित भएकी हुन् । पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्बियाकी मरिका पेरिसिकले मनीतालाई १०-० अंकले पन्छाइन् ।
दस वर्षको उमेरदेखि जुडो करियर सुरु गरेकी २५ वर्षीया मनीताले १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजतका साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जितेकी छन् । कलिलै उमेरमा बन्दी सहायता नियोग (पाम)मा हुर्केकी मनीताले पामबाटै जुडो करियर सुरु गरेकी थिइन् । मनीताका सुरुआती प्रशिक्षक सूर्यनारायण श्रेष्ठ हुन् जसले टोकियो ओलम्पिकमा सोनिया भट्टको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
मनीताले इन्डोनेसियाको जकार्ता/पालेम्वाङ तथा चीनको हाङझावमा भएको क्रमशः १८ औं र १९ औं एसियाली खेलकुद तथा ३ विश्व जुडो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । ओलम्पिक छात्रवृत्ति प्राप्त मनीताले पेरिस ओलम्पिकमा सहभागी हुनुअघि पेरिस ओलम्पिकलाई नै मध्यनजर गरी विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी थिइन् ।
सन् २०११ मा काठमाडौंको धापासीमा भएको त्रियोग कप जुडो प्रतियोगितामा ‘डेब्यु’ गरेकी मनीता सोमबार औपचारिक रुपमा ओलम्पियन बनिन् । त्रियोग जुडोमा मनीताले स्वर्ण जितेकी थिइन् । ‘कन्टिनेन्टल क्वालिफिकेसन’ कोटाबाट पेरिस ओलम्पिकमा स्थान बनाएकी मनीता समग्रमा ओलम्पिक खेल्ने छैटो नेपाली जुडो खेलाडी हुन् ।



कागजपत्र |
