प्रस्तावित निर्वाचन आयुक्त प्रधानले नाम फिर्ता लिँदै लेखेको पत्रमा के छ ?


काठमाडौं – निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो निवेदन फिर्ता लिएका छन् ।

उनको नियुक्तिको विषयलाई संघीय संसदको सुनुवाई समितिको बैठकमा महिलालाई यौन शोषण गरेको आरोप लागेका कारण उनले सफाई पाउने र आयुक्तमा सिफारिस नहुने देखिएसँगै उनले निवेदन नै फिर्ता लिएका हुन् ।

उनको नियुक्तिबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक ११ बजेका लागि बोलाइएकोमा साँझ ५ बजेका लागि सारिएको संसद सचिवालयले जानकारी दिएको छ । तर, उनले निवेदन फिर्ता लिएसँगै बैठक बस्ने नबस्ने भन्ने पनि अन्यौल नै छ ।

प्रधानले सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई निवदेन दिँदै आफ्नो नाम फिर्ता लिँदै केही समूह आफूविरूद्ध सकृयतापूर्वक लागिपरेको दाबी गरेका छन् ।

‘सम्मानित संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा नेपालको संविधान बमोजिम सर्वसम्मतिले सिफारिश गरी सम्मानित समिति समक्ष संसदीय सुनवाईको लागि प्रेषित गरी पठाएकोमा प्रकृया प्रारम्भ भई मैले सम्मानित समिति समक्ष आफ्नो कार्ययोजना समेत प्रस्तुत गरिसकेको कुरा यहाँलाई विदितै छ । नेपालको संविधानले संवैधानिक नियुक्तिको सम्बन्धमा गरेको सुनवाई सम्बन्धी व्यवस्थाले उम्मेदवारको योग्यता, अनुभव जस्ता विषयमा जनताको तर्फबाट परीक्षण गर्ने व्यवस्था गरेको हो,’ उनले अगाडि भनेका छन्, ‘संवैधानिक परिषदको सर्वसम्मत सिफारिशको विरुद्धमा यस बीच सम्मानित काठमाण्डौ जिल्ला अदालतमा उजुरीकर्ताले आफ्नो दावी पुष्टी गर्न सक्तिन, मैले निज उपर कुनै दुर्व्यवहार गरेको छैन भनी स्वीकार गर्दै मिलापत्र गरेको तथ्यलाई अनदेखा गरी न्यायिक समाधानको सम्मान गर्नुभन्दा बाहिर मेरा उपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरन्जित दुष्प्रचार गरी केही समूह सकृयतापूर्वक लागेर चालीसौं वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु । संगठित रुपमा लागेपछि कुठहरु कति डरलाग्दो रुपमा प्रभावकारी हुँदा रहेछन भन्ने अहिले मैले महशुश गरेको छु ।’

यस्तै, उनले नेपालको संविधान र संसदीय सुनवाई समितिको प्रकृयाको सम्बन्धमा आफ्नो उच्च विश्वास रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो सम्बन्धमा संवैधानिक परिषदको सिफारिस प्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सविनय अनुरोध गर्दछु ।’

प्रतिक्रिया