उपसभामुखले लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको रास्वपाको दाबी


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उपसभामुख इन्दिरा रानाले लेखेको सिफारिस पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको दाबी गरेको छ ।

संवैधानिक परिषदमा बहुमत पुर्‍याउने हेतुले अहिले यो प्रकरणलाई बाहिर ल्याइएको आशंकासमेत पार्टीको छ । आज बसेको केन्द्रीय समिति बैठकमा यो विषयमाथि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले बताए । पत्रका विषयमा पार्टीले अनौपचारिक रूपमा बुझ्दा दूतावासमा दर्ता नभएको पाइएको उनको भनाइ छ ।

झाले भने, ‘यो पत्रको मिति १८ महिना अगाडिको रहेछ । अमेरिकी दूतावासमा रजिस्टर भएको पनि छैन । सिफारिसअनुसार कसैले सुविधा लिइएको पनि पाइएन ।’ दूतावासमा दर्ता नभएको भन्ने कसरी पुष्टि गर्नुभयो भन्नेमा उनले ठोस जवाफ दिन सकेनन् । पत्रको एउटा मात्रै कपी बाहिर आएको तथा त्यसमा दूतावासको छाप नरहेको उनले बताए ।

यस प्रकरणमा उपसभामुखको आशय र नियत गलत नभएको तथा आर्थिक चलखेल नभएको दाबीसमेत झाले गरेका थिए । बैठकपछि पत्रकार सम्मेलनमा उनले संवैधानिक परिषद्का लागि यो सबै चलखेल भएको हो कि भन्ने आशंका पार्टीलाई रहेको बताए ।उपसभामुख राना अहिले पार्टीका सदस्य नरहेकाले कुनै निर्णय गर्ने अवस्थामा रास्वपा नरहेको पनि झाले प्रष्ट पारे ।

प्रतिक्रिया