जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम सुरु


काठमाडौँ – सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।

व्यक्ति चिनिने अवस्था नभएको हुँदा मृतकको आफन्तले दिएको हुलिया, फिंगर प्रिन्ट लगायतका आधारमा पोस्टमार्टम गर्न सुरु गरिएको बताइएको छ ।

पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् । अस्पतालका अनुसार एक वटा शवलाई पोस्टमार्टम गर्नका लागि चार घण्टाभन्दा बढी समय लाग्छ । पोस्टमार्टम गरेर सबैको पहिचान भएपछि तीन दिनपछि मात्र आफन्तलाई शव दिने तयारी अस्पतालले गरेको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो ।जसमा परेर १८ जनाको मृत्यु भएको छ । घाइते पाइलट मनिष शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया