सौर्य एअर दुर्घटनाः व्यवस्थापन टिमका १० मध्ये ५ जना परे दुर्घटनामा, ४ को मृत्यु, अप्रेशन चिफ शाक्य घाइते


काठमाडौं – त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनामा सौर्य एअरलाइन्सको व्यवस्थापन कमिटीका ५ जना परेका छन् । व्यवस्थापन समूहमा रहेका १० मध्ये चार जनाले ज्यान गुमाएका छन् अप्रेशन चिफ एवं पाइलट घाइते छन् ।

त्रिभुवन विमानस्थलबाट परिक्षणका लागि पोखरा जाने क्रममा रन—वे छोड्ने बित्तिकै बिहान सवा ११ बजेतिर दुर्घटनामा विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ भने पाइटल मनिषरत्न शाक्य घाइते भएका छन् ।

दुर्घटनामा एअरलाइन्सका चिफ अफ सेफ्टी सागरकुमार आचार्य, सीएएमओ अश्विनकुमार निरौला, मर्मत व्यवस्थापक यज्ञप्रसाद पौडेल, चिफ अफ क्वालिटी एसुरेन्स दिलीप बर्माको निधन भएको छ भने चिफ अफ अप्रेशन (क्याप्टेन) मनीषरत्न शाक्य घाइते भएका छन् ।

जहाजमा सवार १९ जनामध्ये धेरैजसो सौर्य एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेका छन् । यस दुर्घटनाले नेपाली उडान क्षेत्रमा एकैपटक ठूलो संख्यामा प्राविधिकहरु गुमाउन पुगेको छ ।

त्यसका साथै सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका महत्वपूर्ण सदस्यहरुलाई गुमाएको छ ।

जहाजमा सवार १९ मध्ये १८ जनाले ज्यान गुमाएका छन् । ती मध्ये एक जना महिला छिन् भने अन्य पुरुष रहेका छन् । त्यस्तै ज्यान गुमाउनेमा एक जना विदेशी नागरिक समेत रहेको खुलेको छ ।

प्रतिक्रिया