त्रिशूलीमा बस खसेको एक हप्ता, भारतसम्म पुगे शव


काठमाडाैं- अघिल्लो शुक्रबार बिहान दुईवटा बस  चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका थिए । तर, आज हप्ता पुग्दासम्म पनि बस फेला परेकाे छैन ।

गत शुक्रबार बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस नारायणगढ-मुग्लिन सडकअन्तर्गत पहिरोले बगाउँदा त्रिशूली नदीमा खसी बेपत्ता थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । तीमध्ये ३ जनाले तत्काल पौडिएर ज्यान जोगाए पनि बाँकी यात्रु बेपत्ता भएका थिए ।

नदीमा बेपत्तामध्ये हालसम्म २३ जनाको शव फेला परेको छ । आज बिहान (शुक्रबार) नवलपरासीस्थति नारायणी नदीमा थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । अब अझै ४० जनाको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

बससँगै त्रिशूली नदीमा बगेका यात्रुका शव नारायण नदी हुँदै भारतसम्म पनि पुगेको पाइएको छ । बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको उनले बताए । भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको हो ।

खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, गोताखोर गरी ५ सय जना सोनार क्यामेरासहति  खटिरहेका छन् ।

प्रतिक्रिया