
कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा कामदार दम्पती पक्राउ
विराटनगर – मोरङ प्रहरीले सुन्दरहरैंचामा कुखुरा फर्मका सञ्चालकको हत्या आरोपमा एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनीहरूले सुन्दरहरैंचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या गरेको थिए । पक्राउ परेकाहरु मृतकको फर्मका कामदार दम्पती हुन् । बजगाईंले सुन्दरहरैंचा–१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममा काम गर्दै आएका थिए ।
बिहीबारदेखि फरार भएका उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट पक्राउ परेका हुन् । फार्मका सञ्चालक बजगाईंले काम गरेको पैसा नदिई गालीगलौज गरेको निहुँमा उनीहरूले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । बजगाईंको शव टाउको क्षतविक्षत भएको विभत्स अवस्थामा बिहीबार बिहान १०ः३० बजेतिर कुखुरा फर्मभित्रै भेटिएको थियो ।



कागजपत्र |
