
अनलाइन जुवामार्फत ५ करोडको कारोबार, पाँचजना पक्राउ
काठमाडाैं- ‘क्यास एप’ नामक अनलाइन अप्लिकेसन प्रयोग गरी अवैध रुपमा आर्थिक कारोबार गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–८ घर भइ हाल काठमाडौंको रवि भवन बस्ने वर्ष २२को गौरभ भट्टराई, सोही स्थानका २३ वर्षीय सुजन दाहाल, ओखलढुङगाको चम्पादेवी गाउँपालिका–६ घर भएका २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरीको धरान उपमहानगरपालिका–१५का २४ वर्षीय आशुतोष कोईराला र मोरङ उर्लाबारी–७ का २४ वर्षीय मिलन मिश्र रहेका छन् ।
उनीहरूले क्यास एप नामक अनलाइन एप्लिकेसनमार्फत ५ करोडको अवैध कारोबार गरेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।
हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीले उनीहरूलाई क्यास एप सर्भरको एक्सिज दिइ दिई ६ ओटा इसेवा वालेट, ५ ओटा कनेक्ट आईपीएस एकाउन्ट र सोही एकाउन्टहरुमा लिंकअप भएका १९ ओटा विभिन्न बैंकका खाताहरू समेतमा अवैध तरिकाले क्यास एपमार्फत ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूले यी वालेटबाट अनलाइन जुवाको कारोबार गरेको तथा खेल्ने खेलाउने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसूरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।



कागजपत्र |
