प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाले पाए सफाई, ६ जना दोषी ठहर


काठमाडौँ – अख्तियारले विशेष अदालतमा जलेश्वर नगरपालिका प्रमुख, उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार शीर्षकमा दायर गरेको मुद्दामा प्रमुख, उपप्रमुख, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाले सफाइ पाएका छन् भने ६ जनालाई अदालतले दोषी ठहर गर्दै जरिवाना तथा कैद फैसला गरेको छ ।

विशेष अदालतको २ नम्बर इजलासमा न्यायाधीशहरू डा। खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले सो फैसला गरेको हो। न्यायाधीशत्रयको संयुक्त इजलासले जलेश्वर नगरपालिका-१ स्थित हाटबजार क्षेत्रमा भएको ढलानको काममा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नं. १ का वडाध्यक्ष अनिल झा, कार्यपालिका सदस्य सोगरा खातनु र सुपरभाइजर धीरेन्द्र झालाई निर्दोष ठहर गर्दै सफाइ दिएको हो ।

यता, जलेश्वर नगरपालिकाकै इन्जिनियरहरू पवन झा र राकेश चौधरीसँगै सबइन्जिनियर दिपेश साहलाई दोषी ठहर गर्दै जनही तीन महिना कैद र ९७ हजार जरिवाना गरेको छ। त्यस्तै, उपभोक्ता समिति अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीलाई जनही ९७ हजार जरिवाना गरेको हो।

उक्त फैसलासँगै नगरप्रमुखसहितका सफाइ पाएका जनप्रतिनिधिहरू तथा कर्मचारीको निलम्बन फुकुवासँगै पुनः पदस्थापनको बाटो खुलेको छ । जलेश्वर नगरपालिकाका नगरप्रमुख सोनारले आफूहरू निर्दोष हुँदाहुँदै केही तत्त्वले गलत मुद्दामा फसाउन खोजेको भन्दै अदालतले न्याय गरेको बताए ।

प्रतिक्रिया