इन्डोनेसियाका पूर्वमन्त्रीलाई १० वर्षको जेल सजाय


जकार्ता (इन्डोनेसिया) – इन्डोनेसियाका पूर्वकृषिमन्त्रीलाई सार्वजनिक कोषको नौ लाख डलरभन्दा बढीको दुरुपयोग गरेको आरोपमा बिहीबार १० वर्षको जेल सजाय सुनाइएको छ ।

स्याहरुल यासिन लिम्पोलाई उनको मन्त्रालयको अधिकारीहरूलाई राज्यको खजानाबाट पैसा पठाउन आदेश दिएकोमा जकार्ता अदालतले दोषी ठहर गरेको थियो, जसमध्ये केही उनको व्यक्तिगत खर्चका लागि प्रयोग गरिएको थियो ।

प्रतिवादी कानुनी रूपमा भ्रष्टाचारको आपराधिक कार्य गरेकोमा दोषी साबित भएको पीठासीन न्यायाधीश रिएन्टो एडम पोन्टोहले जनाए ।

न्यायाधीशहरूले उनले आफ्नी श्रीमतीका लागि गहना र सौन्दर्य उपचारसहित व्यक्तिगत खर्चमा नौ लाख डलरभन्दा बढी खर्च गरेको पत्ता लगाएका थिए । इन्डोनेसियाका धेरैजनालाई पहिलो नामले जाने स्याहरुललाई रकम फिर्ता गर्न वा अदालतले उनको सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।

न्यायाधीशहरूले ६९ वर्षीय वृद्धलाई १९ हजार डलर जरिबाना तिर्न वा चार महिनाको अतिरिक्त जेल सजायको सामना गर्न आदेश दिए । अभियोजनकर्ताहरूले १२ वर्षको सजाय र ३१ हजार डलर जरिबाना माग गरेका थिए ।

अदालतले बिहीबार स्यहरुलको मुद्दामा कृषि मन्त्रालयका दुई पूर्वउच्च पदस्थ अधिकारीलाई चार वर्षको जेल सजाय पनि सुनाएको छ । प्रतिवादीहरूसँग अपिल सुरु गर्न सात दिनको समय छ । इन्डोनेसियाले हालका वर्षहरूमा भ्रष्टाचारको आरोपमा धेरै सरकारी अधिकारीहरूलाई पक्राउ गरेको छ ।

नोभेम्बरमा, इन्डोनेसियाका पूर्वसञ्चारमन्त्रीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि १५ वर्षको जेल सजाय भएको थियो । जसले देशलाई ५० करोड डलरभन्दा बढी नोक्सान पुर्‍याएको थियो । सन् २०२१ मा, एक पूर्वसामाजिक मामिलामन्त्रीलाई कोरोना भाइरस महामारीबाट पीडित गरिब परिवारहरूको लागि खाद्य सहायतासँग सम्बन्धित १.२ मिलियन डलर घुस लिएको अभियोगमा १२ वर्षको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया