कृषि विकास सहकारीको १ अर्ब रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर


काठमाडौँ – कृषि विकास बहुउद्देश्यीय सहकारीको बचतकर्ताको रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर भएको छ ।

करिब एक अर्ब अपचलन गरेको आरोपमा उक्त सहकारीका सञ्चालकसहित १३ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला प्रहरी रिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

एसपी तथा प्रवक्ता सुवेदीका अनुसार प्रतिवादी बनाइएको १३ मध्ये ८ जना फरार छन् भने चार जना मात्रै पक्राउ परेका छन् । एक जनाको मृत्यु भइसकेको छ ।

१ असारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका-११ घर भई काठमाडौँको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरेर जिल्ला प्रहरी प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो ।

२५ दिन लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुर पठाइएकोमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

पक्राउ परेका चार बाहेक अन्यलाई फरार प्रतिवादी बनाइएको उनले बताए । फरार प्रतिवादीहरूमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य ४४ वर्षीय राज श्रेष्ठ र ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारीलाई फरार प्रतिवादी बनाइएको छ ।

त्यसैगरी सहकारीका कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।

यो समूहले ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ अपचलन भएको भन्दै ७२ वटा जाहेरी परेको थियो । सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै सहकारी ठगीको कसुरमा मुद्दा दर्ता भएको छ ।

मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ अन्तर्गतको ठगी कसुरमा मुद्दा दर्ता गरिएको छ । उक्त कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यसैगरी ललितपुर प्रहरीले सहकारी ठगीको कसुरमा पक्राउ परेकाहरूको सम्पत्ति रोक्काका लागि समेत पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया