धनुषाका रामआशिषलाई सिडियोले दिए दाेस्राे जुनी, यसरी खाेजिएकाे थियाे ‘ब्लडमनी’काे ४६ लाख


काठमाडाैं- धनुषाका रामआशिष यादव पाँच वर्षदेखि साउदीको जेलमा छन् ।

यादवलाई साउदी अरबको ताबुक क्रिमिनल कोर्टले सहकर्मी हत्यासम्बन्धी मद्दामा मृत्युदण्ड(फाँसी)को सजाय सुनाएको थियो । धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका – १७ घर भएका रामआशिषले रुपन्देहीको रुपन्देहीकाे कन्चन गाउँपालिका- ४ का दुर्गाप्रसाद शर्माको हत्या गरेका थिए ।

तर, ब्लड मनी’ वापत् ५० लाख रुपैयाँ लिएर माफी दिन मृतकका परिवार तयार भएपछि यादवको फाँसीको सजाय पनि मिनाहा भएको छ । सम्पत्तिको नाममा झण्डै एक कठ्ठा मात्र घरघडेरी रहेको रामआशिषको परिवारलाई ब्लडमनीवापत् ५० लाख रुपैयाँ जुटाउनु असम्भव जस्तै थियो । तर, ब्लड मनिबापत ४६ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग जुटाउँदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी(सिडियो) गणेश अर्यालले धनुषाका रामआशिष यादवको ज्यान जोगाएका छन् । याेसँगै रामआशिष यादवले दाेस्राे जुनी पाउने भएका छन् ।

मंगलबार शर्माको परिवारलाई ब्लड मनिबापतको ४६ लाख २५ हजार रुपैयाँ व्यवस्थापन गरेर प्रजिअ अर्यालले यादव मृत्युदण्डको सजायबाट जोगाएका हुन् । रुपन्देहीका उद्योग व्यवसायीहरुले ३६ लाख २५ हजार र धनुषाबाट यादव परिवारले १० लाख गरि ४६ लाख २५ हजार रकम व्यवस्था भएको थियो ।

१२ चैतमा काठमाडौंस्थित कन्सुलर विभागले जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई ‘ब्लडमनी’मा सम्झौताका लागि पत्र पठाएकाे थियाे । त्याे पत्र पाएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्याल रामआशिषलाई बचाउने जुक्ति खोज्न लागे ।

त्यसपछि उनले रामआशिषकी पत्नी रेनुकी कुमारीका मामा प्रभु यादवलाई लिएर मृतक दुर्गा प्रसाद शर्माकी श्रीमती सीता शर्माको घर पुगेर मिलापत्रको प्रस्ताव राखेका थिए । सीताको परिवारले ५० लाख रुपैयाँ माग गर्‍यो ।

सीताले ब्लडमनी बापत मागेको ५० लाख रकम जुटाउन धनुषामा रहेको यादव परिवारको लागि असम्भव थियो । तर, प्रजिअ अर्यालले  ब्लडमनीबारे उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलाई भनेका थिए ।

त्यसपछि प्रजिअ अर्यालले ५० हजार, दुई जना सहायक प्रजिअ र रुपन्देहीका सुरक्षा निकायका तीन जना प्रमुखले जनही २५–२५ हजार रुपैयाँका दरले कोष खडा गरेर जम्मा गरे । यस्तै  जिल्लाका ३० जना उद्योगी व्यवसायीबाट समेत ३६ लाख २५ हजार रुपैयाँ जम्मा भयो । उता रामआशिषकी श्रीमती रेनुले आफ्नो जग्गा बेचेर  १० लाख रुपैयाँ जुटाइन् ।

कर्मचारी र व्यवसायीबाट ३६ लाख २५ हजार र रामआशिषको परिवारको १० लाख गरी जम्मा ४६ लाख २५ हजार रुपैयाँ मृतक दुर्गा प्रसाद शर्माकी श्रीमती सीतालाई नगदै दिएपछि अन्ततः मिलापत्र भयाे । ३ लाख ७५ हजार रुपैयाँ कम दिएपनि  मृतकका परिवार माफी दिन सहमत भएकाे छ ।

 

प्रतिक्रिया