एकै ‘चिहान’ बने तीन बहिनी, अर्को जुनि पाइन् अञ्जलीले


काठमाडौं– सोमबार कञ्चनपुर जलमग्न थियो । २ हजार बढी वर्षापछिको बाढीका कारण विस्थापित थिए ।

मध्यान्हतीर वर्षा केही कम भयो । स्थानीय तह,प्रहरी उद्धारमा थिए । कतिपय घरभित्र पसेको पानी निकाल्न व्यस्त थिए ।

त्यही बेला पुनर्वास नगरपालिकाबाट अप्रिय खबर आयो । तीनजना किशोरी खाल्टोमा बसेर बेपत्ता भए ।

पुनर्वास नगरपालिका –५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भए ।
नगरप्रमुख तोय प्रसाद शर्माका अनुसार बेपत्ता भएको २÷३ घण्टापछि उनीहरु मृत भेटिएका थिए ।

उनीसँगै गएकी १२ वर्षकी अञ्जली बोगटी भने भाग्यले बाँचिन् । मेयर शर्माका अनुसार उनीहरुलाई खाल्टोमा डुब्दै गरेको देखेका एकजना युवकले अञ्जलीको कपाल तानेर बाहिर निकालेका थिए ।

त्यसैले उनी घर फर्किन । उनै युवकले घटनाबारे जानकारी गराएका थिए ।

मेयर शर्माले भने,‘उनीहरु साथीको घर जान लागेको कुरा सुन्नमा आएको छ । साथीको घर डुबानमा रहेछ । खेल्दाखेल्दै गएछन् । निकै अप्रिय घटना भयो ।’

मृतक सबै किशोरी स्थानीय गौरीशंकर माविमा अध्ययनरत थिए ।

उनीहरु सबै आफन्त समेत हुन । चारैजना बुवा रोजगारीका लागि भारतमा छन् ।

३ किशोरीको मृत्युपछि वडा शोकमग्न छ ।

प्रतिक्रिया