रास्वपाका मन्त्रीहरुले छाडे सरकारी निवास


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले सरकारी निवास छाडेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसहितका मन्त्रीहरु क्वाटरबाट आफ्नो निवासमा सरेका हुन् ।

गठबन्धन परिवर्तनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी भएका चार मन्त्री चार महिनामै बहिगर्मनको मुखमा पुगेका छन् । रास्वपाबाट सभापति रवि लामिछानेसहित डीपी अर्याल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ सरकारमा छन् ।

रास्वपाका मन्त्रीहरुले राजीनामा दिइसकेका भने छैनन् । केही दिनअघि चारैजना मन्त्रीले प्रधानमन्त्रीसँग संयुक्त भेट गरेका थिए । उक्त भेटमा प्रधानमन्त्रीले संविधानले दिएको अधिकार प्रयोग गर्दै संसद फेस गर्ने जानकारी गराए र रास्वपालाई पनि राजीनामा दिन हतार नगर्न सुझाव दिए ।

प्रधानमन्त्रीको आग्रहलाई स्वीकार गर्दै रास्वपा मन्त्रीहरु रोकिएका हुन् । उनीहरुले प्रधानमन्त्रीलाई चाँडो विश्वासको मत माग्ने प्रक्रियामा जान सुझाव दिएर फर्किएका थिए । राजीनामा नदिए पनि चारै जना मन्त्रीले सरकारी निवास छोडेका हुन् ।

गृहमन्त्री रवि लामिछाने र उपसभापति डीपी अर्यालले गत १८ असारमै क्वाटर छोडेका थिए । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सोमबार छोडेका हुन् । उनले आफू चढेको गाडी र गार्डहरु पनि फिर्ता गरेका छन् । शिक्षामन्त्री श्रेष्ठले पनि क्वाटर छोडेको बुझिएको छ । मन्त्री पद खुस्केर पनि क्वाटर र सुविधाहरु त्याग्न ढिलासुस्ती गर्ने परम्परालाई रास्वपा मन्त्रीहरुले चिरेका हुन् ।

श्रममन्त्री अर्यालले सरकारमा नरहने निश्चित भइसकेपछि सरकारी क्वाटर प्रयोग गर्न छोडेको बताए । उनले मन्त्रीको हिसाबले जिम्मेवारी भने निभाइरहेको जानकारी दिए । ‘खेलकुदमन्त्री श्रेष्ठले भने मन्त्रालयका अत्यावश्यक काममात्रै गरिरहेका छन् । नेपालमा गठबन्धन फेरिँदा मन्त्री श्रेष्ठ कोरियामा थिए । श्रेष्ठले सबै प्रक्रिया मिलाएर विधिवत रुपमा क्वाटरबाट बाहिरिएको बताए ।

मन्त्री श्रेष्ठ गत शुक्रबारदेखि मन्त्रालय पनि गएका छैनन् । कोरिया जानुभन्दा अगाडि थालेका केही कामलाई के गर्ने भनेर छलफल गरिरहेको उनले बताए ।गृहमन्त्री लामिछाने भने मन्त्रालयको काममा व्यस्त नै छन् ।

प्रतिक्रिया