भरतपुरको क्रिकेट रङ्गशाला निर्माणको काम ३० महिनाभित्र सक्ने गरी सम्झौता


काठमाडाैं- चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपलिका र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ । ३० महिनाभित्र रङ्गशालाको पहिलो चरणको निर्माण सक्ने गरी निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग सम्झौता गरिएको भरतपुर महानगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

सम्झौतामा रङ्गशालाको काम २०८३ साल पुस २२ गतेभित्र सक्ने उल्लेख छ । सम्झौतामा उल्लेख भएअनुसार निर्माण कम्पनीले रङ्गशालामा मैदानसहित पाँच वटा पिच, तीन/तीन तलाको दुईवटा टावर, १० हजार क्षमताको प्याराफिटसहित मैदान लगायतका निर्माण गर्नेछ ।

आयोजनाको सम्झौता लागत ७५ करोड ५० लाख ९१ हजार एक सय ८९ रुपैयाँ रहेको छ । रङ्गशाला निर्माणका लागि आउँदो आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् ।

यस्तै बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ ।  रङ्गशाला निर्माण थालेको धुर्मस–सुन्तली फाण्डेशनले पाँच हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । धुर्मस–सुन्तली फाण्डेशनले चन्दा सङ्कलन गरी बनाउन शुरु गरेको रङ्गशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेदेखि पूर्ण रूपमा काम रोकेको थियो ।

प्रतिक्रिया