विरुवा रोप्नेबेला नजिकिएका हर्क–सञ्जिता कसरी भए एक-अर्काका दुष्मन ?


काठमाडाैं- सुनसरीको धरान उपमहानगरपालिकामा मेयर निर्वाचित भइसकेपछि हर्क साम्पाङ र सञ्चारकर्मी सञ्जिता धमला नजिकिएका थिए । धमलाले मेयरले गर्ने सामाजिक कार्यमा साथ दिँदै रिपोटिङ गर्थिन् । उनी मेयरले आयोजना गर्ने वृक्षारोपणको कार्यक्रममै सहभागी हरेक गतिविधिलाई प्राथमिकताका साथ सञ्चारमाध्यमबाट प्रशारण गर्थिन् ।

त्यो समय मेयर हर्कको वाहवाही गर्ने सञ्जिता आजभोलि भने उनको बिरोधमा उत्रिएकी छिन् । त्यसको कारण मेयर हर्कले उनीप्रति गरेको व्यवहार हो ।

गत बुधबार एक सार्वजनिक सुनुवाइ कार्यक्रममा धरानमा रकम लिएर जनप्रतिनिधिले नागरिकताको सिफारिस दिने र धरानमा वेश्यावृत्ति पनि बढेको भन्दै उनले गुनासो गरेकी थिइन् । त्यसको प्रमाण पनि आफूसँग भएको दाबी गर्ने उनको गुनासो मेयर हर्कलाई भने मन परेन ।

पूर्वेली न्युज डटकममा कार्यरत संजिता धमलाले बिना प्रमाण आरोप लगाएको भन्दै मेयर साम्पाङले फेसबुकमा तारन्तार स्टाटस लेख्दै प्रमाण लिएर आउन चुनौती दिए । उनले बोलाएपछि सञ्जिता गत शुक्रबार मेयरको कार्यकक्षमा पुगेकी थिइन् । त्यहाँ दुई जनाबीच केहीबेर भनाभन भएको थियो ।

सञ्चारकर्मी धमलाले आफूले मिथ्या आरोप नलगाएको र आफूसँग प्रमाण रहेको बताएकी थिइन् । तर केही बेरपछि मेयरले नेपाल प्रहरी र नगर प्रहरी लगाएर धमलालाई कार्यकक्षबाट बाहिर निकाल्न निर्देशन दिए ।  धमलाका अनुसार उनलाई पक्राउ गर्न मेयर हर्कले भनेका थिए । त्यसपछि उनलाई लछारपछार गर्दै बाहिर निकालिएको थियो ।

लछारपछारका क्रममा आफ्नो चश्मा फुटेको र शरीरका विभिन्न भागमा चोट लागेको धमलाले बताएकी छन् । मेयर हर्कले सञ्चारकर्मीमाथि दुर्व्यवहार गरेको भन्दै सुनसरीस्थित प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनले आपत्ति जनाएका छन् ।

तर यतिकैमा मेयर साम्पाङ रोकिएका छैनन् । उनले धमलालाई कानुनी कारबाहीको माग गर्दै गृहमन्त्रीलाई पत्रनै लेखेका छन् । उनले आफ्नो कार्यकक्षमा आएर होहल्ला गरेको भन्दै गृहमन्त्री रवि लामिछानेलाई आज (आइतबार) पत्र लेखेका हुन् ।

जबकी सार्वजनिक सुनुवाइमा उठेको गुनासोबारे कुराकानी गर्न उनी स्वयंले धमलालाई बोलाएका थिए । मेयर साम्पाङले सामाजिक सञ्जालमा फेसबुकमा शुक्रबार मध्यान्न १२ बजे ‘प्रमाण लिएर आउनु होला संजिता धमला जी, नागरिकताको सिफारिस गर्दा घुस खानेको रैछ प्रमाणित गरिदिनु परो, अन्यथा सार्वजनिक रूपमै माफी माग्नु परो भन्दै’ ३ पटक स्ट्याटस लेखेका थिए।

तर आफै बोलाएका मेयर हर्कले धमलालाई लछारपछार गर्दै कार्यकक्षबाट निकालिदिए । सञ्चारकर्मी धमलाले मेयर साम्पाङले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफ्नो चरित्रहत्या गरेको समेत आरोप लगाएकी छिन् ।

यो पनि:

प्रश्न सोधेकै आधारमा पत्रकारलाई पक्रन भन्दै गृहमन्त्रीलाई मेयर हर्कको पत्र

 

प्रतिक्रिया