बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा


धुलिखेल – अविरल वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । लेदो र बाढीका कारण अवरुद्ध राजमार्ग प्रहरी र स्थानीयको पहलमा सडक एकतर्फी सञ्चालन ल्याएको हो ।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार शुक्रबार रातिदेखि निरन्तर परेको वर्षाका कारण आज बिहान करिब ८ बजे काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ नार्के र चारसयबेँसी, वडा नं ९ को मङ्गलटारस्थित मङ्गल जनविजय मावि अगाडि वडा नं ११ कालढुङ्गा र वडा नं १२ को माम्तिस्थित सडक खण्ड अवरुद्ध भएको थियो ।

अरनिको राजमार्ग सडक खण्डअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ बाउन्न किलोस्थित खहरेखोलाबाट लेदो आई सडक अवरुद्ध भएको थियो । उक्त स्थानलगायत धुलिखेल नगरपालिका–८ तिरतिरेधारा नजिकै पहिरो र रुख ढलेर अवरुद्ध भएकामा सडक अहिले एकतर्फी सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया