ईयूको सहयोगमा क्रिएसनद्वारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा


काठमाडौँ – युरोपियन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ ।

युरोपिएन युनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन प्रदेशका ६ निजी प्लास्टिकजन्य फोहोरमैला उद्यम सञ्चालन गरी रहेका संस्थालाई प्रदान गरिने परियोजनाका प्रमुख युनिस घिमिरले जानकारी दिए । बागमती प्रदेशबाट तीन, मधेश प्रदेशबाट दुई र लुम्बिनी प्रदेशबाट एक गरी जम्मा ६ प्लास्टिकजन्य फोहोरमैला उद्यम सन्चालन गरिरहेका निजी संस्थालाई मूल्यांकनका आधारमा उक्त अनुदान प्रदान गरिने उनले बताए । छनौट भएका प्रति उद्यमलाई २० लाखका दरले अनुदान रकम प्रदान गरिनेछ ।

‘प्लास्टिकजन्य फोहोरमैला संकलन तथा व्यवस्थापन क्षेत्रमा काम गरिरहेका संस्थाहरूलाई सशक्त बनाउने उद्देश्यले यो अनुदान प्रदान गर्न लागिएको हो । प्राप्त अनुदान रकमबाट संस्थाले आफ्नो क्षमता अभिवृद्धिसँगै भौतिक पूर्वाधार तथा मिसिनरी उपकरणहरू खरिद गर्न सक्नेछन्,’ उनले भने ।

क्रिएसन नेपालका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले यस अनुदानले प्लास्टिकजन्य फोहोरमैला क्षेत्रमा काम गर्ने निजी उद्यमीहरूलाई संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्न ठूलो सहयोग हुने विश्वास व्यक्त गरे । स्टार्टअपको लागि सम्भवतः निजी स्तरमा पहिलो पटक यति धेरै राशीको अनुदान रकम प्रदान गर्न लागिएको उनले बताए ।

निजी संस्थाहरूले अनुदानका लागि परियोजनाद्वारा जारी गरिएको अनुदान निर्देशिकाको पूर्ण पालना गरी प्राप्त ढाँचाको आधारमा आ-आफ्नो संस्थाको विवरण सहित अनुदान प्राप्त गरेको खण्डमा सन्चालन गरिने विभिन्न क्रियाकलापको विस्तृत जानकारी सहित निवेदन फारम भर्नुपर्ने उनले बताए ।

अनुदान निर्देशिका अनुसार प्रारम्भमा प्राप्त भएका निवेदन फारमलाई मूल्यांकन गरी पहिलो चरणमा १० उत्कृष्ट फारमलाई छनौट गरी उनीहरूलाई अभिमुखीकरण तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिनेछ । त्यसपछि छनौट भएका १० उत्कृष्ट उद्यमीहरूले पूर्ण प्रस्तावना पेस गर्नुपर्ने हुन्छ । उक्त प्रस्तावनालाई मूल्यांकन टीमले गहिरो अध्ययन पश्चात् त्यसमध्ये ६ टिमलाई अनुदानका लागि अन्तिम छनौट गर्नेछ । अनुदानका लागि अन्तिम छनौट भएका संस्थाले किस्ताबन्दीमा उक्त अनुदान रकम प्राप्त गर्नेछ । अनुदान प्राप्त गर्ने उद्यमीले परियोजना कार्यान्वयन गर्दै जाँदा प्रगति विवरण सहित खर्च विवरणको पारदर्शी रूपमा समय समयमा नियमित रिपोर्टिङ गर्नुपर्नेछ ।

क्रिएसन नेपालले ग्रिनसिफ्ट परियोजना चार वर्ष समयावधिका लागि तीन प्रदेशको नौ स्थानीय तहमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रूपमा रहेका छन् ।

प्रतिक्रिया