संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संवाद थाल्न तीन दल सहमत


काठमाडौँ – प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढाउन सहमत भएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको विधेयकलाई अगाडि बढाउने सहमति भएको छ । ‘जहाँ पुगेको छ, त्यहीबाट संवाद सुरु गर्ने भन्ने भएको छ’, एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘छिटो गरौँ भन्ने छ ।’

प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन विधेयकका विवादित विषयमा छलफल गरी उपसमितिले अधिकांश विषयमा सहमति जुटाएको छ । समितिले शीर्ष सहमति खोजेको विषयमा पनि प्रमुख दलहरू सहमति नजिक पुगेका थिए । तर त्यही बेला सत्ता गठबन्धन फेरिएपछि यो विषयले प्राथमिकता पाएन ।

गठबन्धन फेरिएको चार महिनापछि काँग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच संवाद भयो । बैठकले विधेयक अगाडि बढाउने र सहमति जुट्न नसकेका विषयमा सहजीकरण गर्न तीन दलले एकएक जना नेतालाई तोक्ने सहमति भएको छ । ‘एकदुई दिनभित्र दलहरुले नाम दिनुहुन्छ होला’ एक नेता भन्छन् ।

प्रतिक्रिया