
सम्पादकको योग्यता पुनरावलोकनको तयारी
काठमाडौं – प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ।
डिजिटलसहित विभिन्न सञ्चार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यक देखि प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए।
‘प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको छ। तर, सञ्चार माध्यमको सम्पादकीय नेतृत्व गर्ने सम्पादकको योग्यतामा फेरबदल भएको छैन। सोही कारण हामीले त्यसको योग्यता र मापदण्ड पुनरावलोकन प्रक्रिया थालेका हौँ’ अध्यक्ष बस्नेतले मङ्गलबार नयाँ अनलाइन, युट्युब, सञ्चार माध्यमका सञ्चालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखीकरण कार्यक्रममा भने।
पत्रकारलाई गल्ती गर्ने छुट नभएको तर्फ हरदम ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले मानवीय कमजोरीले यदाकदा गल्ती भए क्षमा याचनासहित सच्याउन सधैं अग्रसर हुन सुझाव समेत दिए।
अभिमुखीकरण आचारसंहिताको पाटोमा कान्तिपुर टेलिभिजनका प्रधानसम्पादक विजय पौडेल र विभिन्न सञ्चार निर्देशिका एवं अनुगमनबारे काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको थियो।
पत्रकार पौडेलले भ्युअर्स बढाइ केही कमाउने लोभमा पत्रकारिता सक्नेतिर कोही पनि लाग्न नहुने बताए। पत्रकार आचारसंहिता र पत्रकारिताको धर्म पालना गर्दै अघि बढेमा युट्युबसहित सामाजिक सञ्जालको सदुपयोग हुने उनको सुझाव थियो ।



कागजपत्र |
