नेपाल एयरलायन्सका दुई पाइलटलाई कारबाही


काठमाडाैं- अनुमति नलिएरै  वाइडबडी जहाजलाई सी–चेकका लागि इटाली लग्ने कार्यमा संलग्न नेपाल एयरलायन्सका दुई पाइलट कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले क्याप्टेन महेश्वर मान डंगोल र क्याप्टेन रमन घिमिरेलाई उडान लाइसेन्स प्रयोगमा रोक लगाएको हो ।

उड्डयन प्रधिकरण ऐन, २०५३ को दफा ३१ उल्लंघन गरेको भन्दै क्यानले दुवैलाई छानविन नसकिँदासम्म ग्राउन्डेड गरेको छ ।
दुईवटा वाइबडीमध्ये कल साइन नाइनएन एएलवाई भएको जहाज यात्रुसहित आइतबार राति दुबई पुगेको थियो । त्यहाँबाट उक्त जहाजलाई त्यतैबाट इटाली पठाइएको थियो ।

निगमले जहाज सी–चेकका लागि ६ महिना अगाडि नै एयरक्राफ्ट मेन्टिनेन्स अर्गनाइजेसन(एएमओ) छनोट गरिसक्नुपर्ने प्रावधान छ । तर, जहाजको विस्तृत परीक्षण मानिने सी–चेकका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)सँग अनुमति नलिएरै नेपाल एयरलाइन्सले अन्तिम समयमा इटालियन कम्पनी एटिटेक एसपीएलाई जिम्मा दिएको थियो ।

नेवानिले सी–चेकका लागि आव्हान गरेको टेण्डरमा चीनको ग्राण्ड चाइना एभिएसन र इटलीको एटिटेकले आवेदन दिएका थिए । ग्राण्ड चाइना एभिएसनले २० दिनमा र एटिटेकले ३० दिनमा जहाज सि–चेक गर्ने उल्लेख गरेका थिए । एटिटेकले ७ लाख ४० हजार र ग्राण्ड चाइना एभिएसनले ७ लाख ९९ हजार अमेरिकी डलर प्रस्ताव गरेका थिए ।

ग्राउन्ड चाइनाले २० दिनमै सी–चेक गर्ने भनेतापनि ३० दिन लगाउने नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सेटिङ भएको एटिटेकलाई ठेक्का दिइएको थियो ।

प्रतिक्रिया