छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ


काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका-२ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन गृह मन्त्रालयलाई रुलिङ गरेका छन् ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका हुन् । उनले आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको बताए । उनले सांसदले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीको कार्यतालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।

‘आज अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु’ उनले भने ।

आइतबारको बैठकमा सांसदले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए ।

प्रतिक्रिया