मनसुन प्रतिकार्यको लागि तयारी अवस्थामा सशस्त्र प्रहरी


काठमाडौं- सशस्त्र प्रहरी बल नेपालले सवै कार्यालयहरुमा मनसुनको समयमा बाढी, पहिरो, डुवान एवं विपद्मा परेकाहरुको तत्कालै उद्धारको लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको छ ।

मनसुनको समयमा बाढी, पहिरो, डुवान एवं विपद्मा परेकाहरूको तत्कालै उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखिएको एपीएफका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए ।

आवश्यक स्रोतसाधनसहित तैनाथ जनशक्तिले बाढि पहिरो र डुवानको सम्भावित इलाकामा हजार्ड म्यापिङ गरी ती स्थानहरूमा केन्द्रित भई लामो र छोटो गस्ती गर्नुकासाथै देशभरका कार्यालयहरूमा डिजास्टर फोकल पर्सनहरू तोकी आवश्यक समन्वय गर्ने व्यवस्थासमेत मिलाइएको न्यौपानले बताए ।

देशभर स्थापना भएका राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्र, प्रदेश आपतकालस्न कार्य संचालन केन्द्रहरू, जिल्ला आपतकालीन संचालन केन्द्रहरूमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू खटाइएका छन् । विपद्‍मा परेकाहरूको तत्कालै उद्धारका लागि ३९ जिल्लाको ५९ वटा एपीएफका कार्यालयहरूमा १ सय २० वटा मोटर वोट तथा र्‍याफ्ट वोट तयारी अवस्थामा राखिएको छ ।

९१ जना गोताखोरलाई आवश्यक उपकरणसहित सातवटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरूमा तैनाथ गरिएको प्रवक्ता न्यौपानले बताए । विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं २० विपद् उद्धार गण सिनामंगल, नं २४ कालिका गण कास्की, सिन्धुलीको खुर्कोट बेसमा गोताखोर तैनाथ गरिएको छ ।

यसैगरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिसहित धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा गरी नौवटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातैवटा प्रदेशस्थित बाहिनी मुख्यालयहरू, उपत्यकास्थित नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरूमा एक–एक प्लाटुन र गुल्म जस्ता युनिटहरूमा १ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ गरिएको न्यौपानेले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणद्वारा एपीएफलाई हस्तान्तरण गरिएका ८ वटा मास क्याजुल्टी भेहिकल र ८ वटा ए क्लासका एम्बुलेन्सलाई परिचालन गर्न सक्ने गरी सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली र काठमाडौंमा तयारी अवस्थामा राखिएको छ । विपद्को समयमा शुद्ध पिउने पानीको अभावलाई पूर्ती गर्न अमेरिकी दुतावासद्वारा निर्मित डिप ट्युवेल काठमाडौंको ७ स्थानसहित कास्की, नवलपरासी, बाँके, कैलालीमा तयारी अवस्थामा राखिएको छ ।

देशभर रहेका एपीएफका कार्यालयहरूमा २४सैं घण्टा तयारी अवस्थामा रहने गरी बाहिनी मुख्यालहरू, शिक्षालय तथा गणहरूमा सिनियर अफिसरको कमाण्डमा १ प्लाटुन, जिल्लास्थित गुल्ममा जुनियर अफिसरको कमाण्डमा २० जना, अन्य गुल्महरूमा जुनियर अफिसरको कमाण्डमा १५ जना, बीओपी तथा सुरक्षा बेसहरूमा जुनियर अफिसरको कमाण्डमा १० जनाको टोली आवश्यक सामाग्रीसहित परिचालन गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

उनका अनुसार झापा, सप्तरी, बारा, चितवन, रुपन्देही, बाँके, कैलाली, भक्तपुर, मकवानपुर र तनहुँमा रहेका १० वटा सशस्त्र प्रहरी बल नेपालका इमिडियट रेस्पोन्स टिम पोष्ट तथा सबै प्रदेशमा रहेका १३ वटा हेभि इक्युपमेन्टहरूलाई समेत तयारी अवस्थामा राखिएको छ ।

देशभर रहेका एपीएफका इकाईहरूमा पनि विपद् प्रतिकार्यमा परिचालन गराउनका लागि निश्चित जनशक्तिलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राखिएको छ । जसअनुरुप एकपटकमा २४सैं घण्टा रहने गरी ५ सय ४६ इकाईहरूमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति तयारी हालतमा रहेका छन् ।

प्रतिक्रिया